छिमेकी देशबाट चीनतर्फ महिलाको तस्करी बढ्दै


 


एजेन्सी । चीनमा घट्दो जनसङ्ख्याको असरबाट छिमेकी देशहरु पनि प्रभावित हुन थालेका छन् । चीनमा घट्दो जनसङ्ख्या र लैङ्गिक असन्तुलनका कारण दक्षिण एवम् पूर्वी एसियाका देशहरुबाट महिला र युवतीलाई तस्करी गरी चीन लैजाने क्रम पनि बढ्दै गएको पाइएको हो । चीनमा विवाहका लागि सुहाउने बेहुलीको अभावका कारण छिमेकी देशहरु पाकिस्तान, म्यान्मार, नेपाल, कम्बोडिया, इण्डोनेशिया, लाओस, उत्तर कोरिया, भियतनामजस्ता देशबाट युवतीको तस्करी हुने क्रम बढ्दै गएको पाइएको हो ।

ह्युमन राइट्स वाचले यस्ता देशहरुबाट चीनतर्फ महिलाको तस्करी हुने गरेको ‘भरपर्दो प्रमाण’ फेला परेकोे जनाएको छ । ‘चीनमा परम्परागत रुपमा छोराको चाहना र एक सन्तान नीतिका कारण चीनमा ३ देखि ४ करोड महिलाहरुको कमी छ । यसले तस्करी गरी ल्याइएका महिला र युवतीहरुको माग पनि बढेर गएको छ ।’ ह्युमन राइट्स वाचले जनाएको छ । संस्थाका अनुसार चीनमा यस्ता महिलाहरु ३ देखि १३ हजार डलरसम्म बिक्री हुन्छन्।

चीनतर्फ तस्करी हुने महिलाको सबैभन्दा ठूलो स्रोतका रुपमा पाकिस्तान रहेको छ । न्यून आय भएका इसाई वा कतिपय अवस्थामा मुसलमान समुदायका महिलाहरु चीनतर्फ हुने तस्करीबाट पीडित हुने गरेको ब्रुकिङ्स इन्स्टिच्युसनकी शोधकर्ता मादिहा अफजलको भनाइ छ । चीनमा सुखी जीवनको प्रलोभन देखाएर महिलाहरुलाई ल्याइन्छ । तर, उनीहरुमाथि दुव्र्यवहार हुने गरेको, यातना दिइने गरेको र देशव्यापारजस्ता काममा संलग्न गराइने अफजल बताउँछिन् ।

अफजलका अनुसार चीनको महत्वकांक्षी बीआरआईअन्तर्गत पाकिस्तान आर्थिक करिडोर (सीपेक) परियोजना आसपास महिलाहरुको तस्करी हुने गरेको छ । पाकिस्तानमा हुने तस्करीबारे अमेरिकाको विदेश मन्त्रालयले सन् २०२३ मा प्रकाशित गरेको एउटा प्रतिवेदनमा पनि निमुखा इसाई समुदायलाई चिनियाँ तस्करहरुले निशाना बनाउने गरेको उल्लेख थियो । चीन पुग्ने सयौँ पाकिस्तानी महिलाहरुले आफ्ना पति भनिने चिनियाँहरुबाट नै व्यवसायिक यौनकार्यमा संलग्न गराइने प्रतिवेदनमा उल्लेख छ ।

चीन र पाकिस्तान दुबै पक्षले महिला तस्करी रोक्ने प्रयास जारी राखेको बताउँदै आएका छन् । तर व्यवहारमा भने त्यस्तो देखिएको छैन । एक जना पाकिस्तानी अधिकारी मुलुकमा गरिब बालिकालाई संरक्षण गर्न पहल नगरिँदा तस्कर गिरोह बढ्दै गएको स्वीकार गर्छन् । आफूहरुलाई घटनाबारे अनुसन्धान नगर्नसमेत निर्देशन आउने गरेको उनको भनाइ छ । सन् २०३० सम्म झण्डै २५ प्रतिशत चिनियाँ पुरुष अविवाहित नै रहने भएकाले चीनतर्फ हुने महिला एवम् युवतीको तस्करी नरोकिने ह्युमन राइट्स वाचको निष्कर्ष छ ।

जेनेभामा रहेको बाल अधिकारवादी संस्था ह्युमानियमका अनुसार चीनमा पुरुषहरु आफूले बिहे गरेकी महिलाले सन्तानमात्रै जन्माउन् भन्ने चाहन्छन् । विवाहका लागि र यौन उत्पीडनका लागि चीनतर्फ हुने महिलाहरुको तस्करीमा समानता रहेको उक्त संस्थाको ठहर छ ।

नेपालबाट पनि चीनतर्फ महिलाहरुको तस्करी हुने गरेको पाइएको छ । नेपाल प्रहरीले हालैका समयमा तस्करी गतिविधिमा संलग्न भएको आरोपमा केही चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । चिनियाँ तस्करीले विभिन्न प्रलोभन देखाएर महिलालाई तस्करी गर्ने गरेको महिला अधिकारकर्मी अञ्जना शाक्य बताउँछिन् । उनका अनुसार चिनियाँ नागरिकले सबै प्रक्रिया पूरा गरेर लैजाने भएपनि नेपाली महिलाहरु सबै किसिमका जोखिमको सिकार हुने गरेका छन् ।

हालै खोजमूलक रिपोर्टिकाले तयार पारेको प्रतिवेदनमा म्यान्मारमा बिजुलीका पोलमा चीनमा ‘बेहुली’ वा ‘भाडामा बच्चा पाइदिने महिला’ को आवश्यकता रहेको विज्ञापन देखिएको थियो । लाओस भियतनामजस्ता मुलुकमा अवस्था यस्तै रहेको बताइएको छ । सन् २०२२ मा लाओस सरकारले ४४८ जना महिला तस्करीबाट पीडित भएको जनाएको छ ।

प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्