चिनियाँ शेयर बजारमा हाहाकार, ३ वर्षमा ७ ट्रिलियन डलर स्वाहा


 


काठमाडौं । चीनको शेयर बजारमा ठूलो गिरावट आएपछि लगानीकर्ताको निद्रा हराएको छ। मात्र ३ वर्षमा चीनको बजार पुँजीकरणबाट ७ ट्रिलियन डलर स्वाहा भएको छ। यो गिरावटपछि चीनको शेयर बजार नियामकको सक्रियता बढेको छ।

शेयर बजारको मनोबल बलियो बनाउन नियामकले बजार हेरफेर, गलत सर्ट सेलिङ र वित्तीय अपराध रोक्न नियम परिवर्तन गर्ने कुरा गरिरहेको छ। बजार नियामकले धितो राखिएको शेयरसँग सम्बन्धित नियम परिवर्तन गरिने जनाएको छ।

फेब्रुअरी २०२१ मा नयाँ उचाइमा पुगेपछि चीनको शेयर बजार लगातार घटिरहेको छ। वर्ष २०२४ को एकदमै खराब सुरुआतले अवस्थालाई थप नाजुक बनाएको छ। सबैभन्दा बढी गिरावट मिडक्याप र स्मलक्याप शेयरमा देखिएको छ।

चीनको घरजग्गा क्षेत्रको गम्भीर संकट र देशको अर्थतन्त्रको कमजोर प्रदर्शनले शेयर बजारलाई दबाबमा पारेको छ। योसँगै अमेरिकासँग गहिरिएको तनाव पनि चीनको शेयर बजार घट्नुको प्रमुख कारण हो। यस्तो अवस्थामा शेयर बजारबाट घाटा व्यहोरेका लगानीकर्ताले अमेरिकी दूतावासको ब्लग अकाउन्ट र अन्य सामाजिक सञ्जालमार्फत आफ्नो निराशा र असन्तुष्टि व्यक्त गरिरहेका छन्।

शेयर बजारमा आएको यो गिरावटबाट चिन्तित चीनले अर्थतन्त्रमा विश्वास जगाउन र शेयर बजारमा लामो मन्दी आउन नदिन निरन्तर प्रयास गरिरहेको छ। तर, चीनको अर्थतन्त्रमा यति धेरै संकट उत्पन्न भएका छन् कि त्योसँग लड्न गरिएका सबै प्रयास अपर्याप्त साबित भइरहेका छन्।

अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमानअनुसार यस वर्ष चीनको वृद्धिदर सन् २०२३ मा ५.२ प्रतिशतबाट घटेर ४.६ प्रतिशतमा सीमित हुनेछ। यदि यो अनुमान सही साबित भयो भने यो विगत १० वर्षमा चीनको अर्थतन्त्रको सबैभन्दा खराब प्रदर्शन हुनेछ। सन् २०२८ सम्म यो ३.५ प्रतिशतमा झर्न सक्छ। यही डरले चीनको शेयर बजारमा गिरावटको खराब चरण जारी छ।

यो हप्ता चीनको शेयर बजार सांघाई कम्पोजिट सूचकांक ६.२ प्रतिशतले गिरावट आएको छ। जुन अक्टोबर २०१८ पछिको सबैभन्दा ठूलो साप्ताहिक गिरावट हो। यो वर्षको सुरुदेखि नै यो परिसूचक ८ प्रतिशतभन्दा बढीले घटेको छ। जहाँ शेन्जेन कम्पोनेन्ट इन्डेक्स ८.१ प्रतिशतले घटेको छ र यो ३ वर्षयताकै सबैभन्दा ठूलो गिरावट हो। यो वर्षको सुरुदेखि अहिलेसम्म यो सूचकांक १५ प्रतिशतभन्दा बढीले घटेको छ।

यो साता चीनको अर्थतन्त्रका लागि निकै खराब साबित भएको छ। हप्ताको सुरुआत विश्व र चीनको सबैभन्दा ठूलो रियल स्टेट कम्पनी एभरग्रान्डको बिक्रीबाट भएको थियो। हङकङको अदालतले एभरग्रान्डलाई खारेज गर्न आदेश दिएको थियो। यो संसारको सबैभन्दा ठूलो ऋणमा डुबेको रियल स्टेट डेभलपर्स कम्पनी हो। हङकङको अदालतले एभरग्रान्डलाई उसको ३०० अर्ब डलरको ऋण तिर्न बेच्न आदेश दिएको छ।

उता चीनको दोस्रो ठूलो कम्पनी कन्ट्री गार्डेन डिफल्टर बनेको छ। यससँगै चीनको सम्पत्ति बजारमा संकट गहिरिएको छ। रियल स्टेट संकटले ऋण दिने बैंकहरु पनि समस्यामा पर्न सक्ने डर बढ्दै गएको छ।

चीनको रियल स्टेट क्षेत्रको अवस्था यति दयनीय बनेको छ कि यहाँ लाखौँ फ्ल्याटहरु खाली भएका छन्। यस्तो अवस्थामा रियल स्टेट कम्पनीहरुले घर बेच्न अनौठो अफर दिन थालेका छन्।

यसैगरी चीनमा ग्राहकको पर्खाइमा रहेका रियल स्टेट कम्पनीले घरको मूल्य घटाउन थालेका छन्। बजारमा माग कम र आपूर्ति बढी भएकाले घरको भाउ घटेको हो। चीनका चार ठूला सहरमा घरको मूल्य १४ प्रतिशतले घटेको छ। नयाँ घरको बिक्री पनि ६ प्रतिशतले घटेको छ। –एजेन्सी

प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्