बाँसबारी जग्गा घोटाला प्रकरण : व्यवसायी अरुण चौधरी रिहा


 


काठमाडौँ, माघ २४ । बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी रिहा भएका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार बुधबार चौधरीसहित अन्य दुई जनालाई पनि रिहा गरेको हो ।

सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा चौधरीलाई रिहा गरेको हो ।

इजलासले बाँकी अनुसन्धानको कार्य पुरा गर्न सीआईबीलाई आदेश दिएको छ । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (६) बमोजिम अदालतले उक्त आदेश दिँदै प्रतिवादीहरुलाई २५ दिनसम्म नै हिरासतमा राखी अनुसन्धान गर्ने पर्ने सम्मको अवस्था नदेखिएको पनि ठहर थियो ।

जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुण कुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरलाई केन्द्रीय अनुसन्धान ब्युरोले माघ १८ मा पक्राउ गरेको थियो । जसअनुसार तीनै जना रिहा भएका हुन् ।

बाँसबारी छाला जुत्ता कारखानाको कम्पाउन्डमा च्याम्पियन फुटवेयर स्थापना गरेर त्यहाँको १० रोपनी जग्गा च्याम्पियनकै नाममा ल्याएर चौधरी समूहले अहिले त्यहाँ चाँदबाग स्कुल सञ्चालन गरेको छ ।

प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्