नेता बुढाथोकीको निधनमा कांग्रेसले पार्टीको झन्डा तीन दिन झुकाउने


 


काठमाडौँ, माघ २३ । नेपाली कांग्रेसले नेता केशवकुमार बुढाथोकीको निधनमा तीन दिन पार्टीको आधा झन्डा झुकाउने निर्णय गरेको छ ।

आव (मंगलबार) बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले माघ २३, २४ र २५ गतेसम्म केन्द्र, प्रदेश र सबै जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो ।

यस्तै कांग्रेसले पार्टीका पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गरेको छ । कांग्रेसले माघ २४ गते केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

उनका अनुसार स्वर्गारोहणको १३ औँ दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको आयोजना गरिने छ । माघ १३ गतेदेखि जारी कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान पनि स्थगित भएको छ ।

कांग्रेस केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व सामान्य प्रशासनमन्त्री बुढाथोकीको विराटनगर स्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा माघ २२ गते निधन भएको थियो ।

नेपाली कांग्रेसले शोक वक्तव्य जारी गर्दै बुढाथोकीको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

प्रकाशित मिति: २३ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्