चिनियाँ ह्याकर ‘भोल्ट टाइफुन’ ले अमेरिकी पूर्वाधारहरूलाई निशाना बनाएको एफबीआईको आरोप


 


एजेन्सी । ऊर्जा र पाइपलाइनजस्ता प्रमुख पूर्वाधार परियोजनाहरूमा चिनियाँ राज्य समर्थित ह्याकर समूहहरूबाट पछिल्ला दिनमा भएको ह्याकिङ आक्रमणको प्रयासलाई आफूहरूले निस्तेज तुल्याएको अमेरिकी संघीय अनुसन्धान विभाग (एफबीआई)ले दाबी गरेको छ ।

बुधबार अमेरिकी संसदको एक समितिमा सोधिएका प्रश्नहरूको जवाफ दिँदै एफबीआईका निर्देशक क्रिस्टोफर रेले आफूहरूले ‘भोल्ट टाइफुन’ नामक चिनियाँ ह्याकर समूहलाई बन्द गराउन अभियान नै चलाएको बताएका थिए ।

रेले आफ्नो बयानका क्रममा सो समूहले अमेरिकास्थित विभिन्न पुराना सरकारी कार्यालयका राउटरहरूमार्फत ह्याकिङ र डेटा चोरीको प्रयास गरेको आरोप लगाएको बेलायती सञ्चार संस्था बीबीसीले उल्लेख गरेको छ ।

कुनै शत्रुतापूर्ण द्वन्द्व भइहालेको खण्डमा अमेरिकाका प्रमुख पूर्वाधारहरूलाई काम नलाग्ने बनाउन सकियोस् भन्ने उद्देश्यले चीनले आफ्नो प्राविधिक तयारी अगाडि बढाइरहेको एफबीआई प्रमुखको निष्कर्ष थियो ।

उनको यो आरोपमा चीनले कुनै आधिकारिक प्रतिक्रिया जनाइसकेको छैन । यद्यपी, विगतमा चीनले आफूमाथि लाग्ने गरेको राज्य समर्थित साइबर युद्धको प्रतिवाद गर्दै अमेरिकालाई नै ‘संसारको सबैभन्दा ठूलो ह्याकर राज्य र विश्वव्यापी साइबर चोर’ भएको आरोप लगाउने गरेको थियो ।

भोल्ट टाइफुन समूहले अमेरिकी सञ्चार संयन्त्रमा आक्रमण गरेको यो पहिलो पटक होइन । यसअघि सन् २०२३ को मे महिनामा सोही समूहले गुआमस्थित अमेरिकी सेनाका बेसहरूमा ईमेल र अन्य सञ्चार पूर्वाधारमाथि मालवेयर मार्फत आक्रमण गरेको थियो ।

त्यस्तै, जुलाइमा अमेरिकी वाणिज्य मन्त्रालयसहित विभिन्न सरकारी निकायका ईमेलमा आक्रमण गरेको माइक्रोसफ्ट र अमेरिकी गुप्ताचर संस्थाहरूले घोषणा गरेका थिए । अमेरिकी विदेशमन्त्रीको चीन भ्रमण आसपास पनि चिनियाँ राज्यसमर्थित ह्याकरहरूले अमेरिकी अधिकारीहरूका ईमेलमा अनाधिकृत पहुँच बनाएको सार्वजनिक भएको थियो । चीन सरकारले भने यस्तो आरोपहरूलाई एकदमै अव्यावसायिक र भ्रामक सूचना भएको प्रतिक्रिया दिँदै आएको छ ।

बुधबारको बयानका क्रममा एफबीआई निर्देशकले सो चिनियाँ ह्याकरहरूको समूह विभिन्न अमेरिकी पूर्वाधारका एक सयभन्दा बढी पुराना राउटरमा मालवेयर इन्स्टल गर्न सफल भएको उल्लेख गरेका थिए ।

‘चीनले युद्धको अवस्था आइहालेमा राजनीतिक वा सैन्य स्थानहरूमा मात्रै आक्रमणको तयारी गरेको छैन,’ रेको भनाइ थियो, ‘आवश्यक परेमा उनीहरू अमेरिकी समूदाय र नागरिकहरूमा उथलपुथल मच्चाउन र साँच्चै क्षति पुर्‍याउन सक्ने तयारीमा छन् ।’ अमेरिकी संसदीय समितिको सो छलफलमा चीनको त्यस्तो तयारी साइबर पूर्वाधार क्षेत्रमा विभिन्न पावर ग्रीड र ठूला पुलहरूमा बम राखेजत्तिकै जोखिमपूर्ण भएको चर्चा भएको थियो ।

चीनले भने अमेरिकी संसद्को अमेरिका-चीन प्रतिस्पर्धासम्बन्धी समितिकै कडा शब्दमा आलोचना गर्ने गरेको छ । एफबीआई निर्देशकले भोल्ट टाइफुन समूहजस्ता अभियान चीन सरकारले साइबर युद्धका लागि तयार गरेको भन्दै यस्ता साधन स्रोतबारे विस्तृतमा बयान गरेका थिए । रेले चीनको राज्यसमर्थित ह्याकिङ क्षमता बाँकी सबै देशहरूको जोड्दाभन्दा पनि ठूलो रहेको र एफबीआईका साइबर एजेन्टभन्दा चीनका यस्ता एजेन्टहरू ५० गुणा धेरै रहेको दाबी गरेका थिए । अमेरिका र चीनबीचको प्रविधि युद्ध बढ्दै जाँदा दुई देशले खुलेरै एकर्कालाई साइबर आक्रमणमा संलग्न भएको आरोप लगाउने गरेका छन् ।

संगठित रूपमा हुने ह्याकिङको क्षति सन् २०२० मा १० खर्ब डलरभन्दा माथि पुगेको अनुमान गरिएको थियो । सन् २०२४ मा आफ्नो साइबर सुरक्षा प्रणाली बलियो बनाउन विभिन्न संस्थाहरूको क्षमता विकासका लागि मात्रै अमेरिकी संघीय बजेटमा झन्डै १८ अर्ब डलर विनियोजन भएको एजेन्सीहरूले जनाएका छन् ।

प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्