चिनियाँ रियलस्टेट संकट : एभरग्रान्डलाई ‘लिक्विडेसन’मा जान आदेश


 


काठमाडौं । विश्वको सबैभन्दा ठूलो सम्पत्ति विकासकर्ता एभरग्रान्ड ग्रुपलाई ‘लिक्विडेसन’मा जान हङकङको एक अदालतले आदेश दिएको छ ।

ऋणमा घरजग्गा (रियलस्टेट)सम्पत्ति बनाउने कम्पनी सन् २०२० देखि संकटतर्फ धकेलिएको थियो । लिक्विडेसन अर्थात सम्पूर्ण सम्पत्ति बेचेर नगदमा परिणत गर्न आदेश भएसँगै विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा यो विषयले तरंग ल्याएको छ ।

चिनियाँ रियलस्टेट जायन्ट एभरग्रान्ड र यसका विदेशी क्रेडिटरहरूबीच ऋण पुनर्संरचनाको सम्झौता असफल भएपछि हङकङको उच्च अदालतले सोमबार यस्तो आदेश दिएको हो ।

अदालतले अर्को सुनुवाइ गर्दै एभरग्रान्डको लागि लिक्विडेटर नियुक्त गर्नसक्ने बताइएको छ । अत्यधिक ऋणमा रहेको एभरग्रान्डले सन् २०२१ मा ऋण भुक्तानी डिफल्ट गरेको थियो ।

चीनको शेन्जेनमा आधारित एभरग्रान्डले सन् २०२३ मा न्यूयोर्कमा बैंकरप्सिमा गएको निवेदन दर्ता गरेको थियो ।

गत वर्ष सन् २०२३ को जुन अन्त्यसम्ममा यसका कुल दायित्व २.३९ ट्रिलियन युआन अर्थात् करिब ३३३ अर्ब अमेरिकी डलर थियो । चीनको कुल गार्हस्थ उत्पादनमा रियलस्टेट उद्योगको हिस्सा करिब ३० प्रतिशत छ ।

घरायसी सम्पत्तिको दुई तिहाइभन्दा बढी हिस्सा घरजग्गासँगै जोडिएको छ । घरजग्गा क्षेत्रको ‘बबल’लाई सुस्त पार्न चीन सरकारले सन् २०२० मा अत्यधिक ऋण लिन रोक लगाएको थियो । त्यसयता कयौँ चिनियाँ रियलस्टेट कम्पनी डिफल्टमा गएका छन् ।

प्रकाशित मिति: १५ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्