पश्चिम नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार


 


नवलपरासी । पश्चिम नवलपरासीमा अज्ञात समूहले एक व्यवसायीमाथि गोली प्रहार गरेको छ ।

जिल्लाको बर्दघाट नगरपालिका-१६ केराबारीनजिकै नचिनेका व्यक्तिको गोली प्रहारबाट ६५ वर्षीय व्यवसायी गजेन्द्र विश्वकर्मा घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार सुस्ता गाउँपालिका १ बरुवामा सुनचाँदी पसल गर्ने विश्वकर्मामाथि घर फर्कने क्रममा शनिबार राति गोली हानिएको थियो ।

पाखुरामा गोली लागेर घाइते विश्वकर्मालाई तत्काल चिसापानी अस्पताल बर्दघाट लगिए पनि उपचार सम्भव नभएपछि बुटवलस्थित तिनाउ अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।

विश्वकर्माले प्रयोग गर्ने स्कुटरसमेत आक्रमणकारी समूहले लिएर भागेका छन् । गोली प्रहार गर्ने व्यक्तिको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

प्रकाशित मिति: २१ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्