आर्मी बन्यो आहा रारा गोल्ड कप च्याम्पियन


 


पोखरा। माघ २० । त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । ए डिभिजन प्रतिद्वन्द्वी थ्री स्टार क्लबलाई शनिबार ३–० ले हराउँदै आर्मीले आहा रारा गोल्ड कपको उपाधि जितेको हो ।

पोखरा रंगशालामा आर्मीलाई जित दिलाउन कप्तान जिलेस्पी जंग कार्की , फत्तेमान घले र बसन्त जिम्बाले गोल गरे ।

३८ औं मिनेटमा सिद्धान्त चौधरीको कर्नरमा पेनाल्टी बक्समा कसैको निगरानीमा नरहेका जिलेस्पीले हेड मार्फत दोस्रो बारमा गोल गरेका हुन् ।

खेलको ८३ औं मिनेटमा फत्तेमानको गोलमा आर्मीले अग्रतालाई दोब्बर बनाएको थियो । बसन्तले इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै आर्मीको जित निश्चित पारे ।

पाँच पटकको विजेता थ्री स्टारको‌ त्यो सातौं फाइनल थियो । पछिल्लो पटक २०७५ मा यी दुई टोली फाइनलमा भिड्दा थ्री स्टारले बाजी मारेको थियो । त्यसअघि आर्मीले २०६५, २०६६ र २०७२ सालमा फाइनल खेलेको थियो ।

आहा रारामा थ्री स्टारलाई दुई पटक उपाधि जिताएका प्रशिक्षक मेघराज केसीले प्रतियोगितामा पहिलो पटक आर्मीलाई च्याम्पियन बनाएका छन् ।

यसपटक राइजिङ स्टार फुटबल क्लबलाई १–० हराउँदै यात्राको सुरूवात गरेको आर्मीले क्वाटरफाइनलमा संकटालाई ३–० र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडमाथि २–१ जित निकाल्दै पाँचौं पटक फाइनल पुगेको हो ।

अर्कोतर्फ उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई २–१ हराउँदै अघि बढेको थ्री स्टारले क्वाटर फाइनलमा भुटानको पारो फुटबल क्लबलाई २–० र सेमिफाइनलमा जाउलाखेल माथि १–० जित निकाल्दै फाइनल पुगेको थियो ।

थ्रीस्टारले यसअघि २०७४ मा उपाधि जितेको थियो । थ्रीस्टार २०६३, २०६७, २०६९, २०७१, २०७४ र २०७५ मा फाइनलमा पुगेको थियो ।

२३ औं संस्करणसम्म आइपुग्दा नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लबले सर्वाधिक समान ६ पटक , थ्री स्टारले ५ पटक, संकटा क्लबले २ पटक, अफ्रिकन युनाइटेड, सहारा, एपिएफ र आर्मी समान १ पटक च्याम्पियन बनेका छन् ।

पटकको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रकाशित मिति: २० माघ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्