नेपालमा चिनियाँ दौडधुप, परराष्ट्रविद् भन्छन्- आशंका सिर्जना हुन्छ


 


काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको निम्तोमा नेपालको चारदिने भ्रमणमा शुक्रबार काठमाडौं उत्रिएकी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले त्यसयता राजनीतिक दलका शीष नेतृत्वसँग शृंखलाबद्ध भेटवार्ता गरिन् ।

अधिकांश राजनीतिक भेटमा चिनियाँ उपमन्त्रीको चासो थियो- नेपालमा सञ्चालित चिनियाँ परियोजना । भेटका क्रममा उनले नेपालमा सञ्चालित परियोजनामा देखापरेका समस्या समाधानका लागि पहल लिइदिन नेताहरुलाई आग्रह गरिन् ।

गत पुसमा मात्रै सरकारले निर्माणमा ढिलाइ गरेको भन्दै त्रिशुली थ्री बी जलविद्युत् आयोजनाको जिम्मा लिएको चिनियाँ कम्पनी सुइफा एएन एचई ग्रुपसँगको ठेक्का रद्द गर्ने निर्णय गरेको थियो । यस्तै, चिनियाँ कम्पनीले जिम्मा लिएका चक्रपथ दोस्रो खण्डको काम पनि साइट क्लियरेन्स नहुँदा अघि बढ्न सकेको छैन भने उत्तर-दक्षिण करिडोरको काम पनि हुन सकेको छैन ।

यसअघि गत पुस १९ गते भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आएकै दिन चिनियाँ कम्युनिस्ट पार्टीका उपमहासचिव साई युगाङ नेतृत्वको टोली आइपुगेको थियो ।

परराष्ट्रविद् रमेशनाथ पाण्डे नेपालमा दुवै छिमेकीको आवतजावत बढ्दा आशंका सिर्जना हुने बताउँछन् । कूटनीतिक कमजोरीका कारण दुवै छिमेकीले प्रभाव विस्तार गरिरहे पनि नेपालले सन्तुलनकारी भूमिका निर्वाह गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ ।

उपमन्त्री सुनले काठमाडौं उत्रिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटेकी थिइन् । त्यसपछि उनले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेतासँग भेट गरेकी थिइन् । सीपीसीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्रीको जिम्मेवारी सम्हाल्नुअघि उनी सिंगापुरका लागि राजदूत थिइन् ।

प्रकाशित मिति: १४ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्