मलेसियाको हिरासतबाट १०० भन्दा बढी रोहिंग्या शरणार्थी फरार


 


मलेसियामा रोहिङ्ग्या शरणार्थी रहेको हिरासत केन्द्रमा भएको हिंसात्मक झडपपछि १०० भन्दा बढी शरणार्थी हिरासतबाट भागेका छन् भने भाग्ने क्रममा राजमार्गमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

उत्तरी पेराक राज्यको बिदोर अस्थायी अध्यागमन डिपोबाट भाग्नुअघि ११५ रोहिंग्या आप्रवासी र अन्य १६ जनाले आफ्नो हिरासत भवनमा दङ्गा गरेको स्थानीय प्रहरी प्रमुख मोहम्मद नईम अस्नावीले एएफपीसँगको कुराकानीमा पुष्टि गर्नुभयो ।

प्रहरी र अन्य निकायका अधिकारीहरूले बेपत्ता थुनुवाहरूको खोजी गरिरहेको नइमले बताउनुभयो । उहाँले उत्तर–दक्षिण राजमार्गमा अँध्यारोमा गुडिरहेको गाडीको ठक्करबाट एक शरणार्थीको मृत्यु भएको बताउनुभयो । प्रहरीका अनुसार दङ्गा र झडपको कारणबारे अनुसन्धान भइरहेको छ ।

आफ्नो बौद्ध बहुल मातृभूमि म्यान्मामा उत्पीडनको शिकार भई मुस्लिम बहुल मलेसिया, इन्डोनेशिया र बङ्गलादेशको शरणार्थी शिविरहरूमा रहँदै आएका छन् । यसमध्ये अधिकांश बङ्गलादेशमा रहेका दर्जनौँ शरणार्थी शिविरहरूमा रहेका छन् ।

गरिबीसँग जुध्दै रोजगारीको अवसरका लागि बङ्गलादेश र म्यान्माबाट थाइल्याण्डसँगको खुला सिमाना भएर डुङ्गाचढेर मलेसिया छिर्न वा लुकिछिपी मलेसिया प्रवेश गर्न उनीहरूले महिनौँ लामो समुद्री यात्रा गर्छन् ।

पक्राउ परेमा उनीहरूलाई सामान्यतया भीडभाड र फोहोर अवस्थामा रहेका हिरासत केन्द्रमा पठाइने गरेको अधिकारवादी समूहहरूले बताउने गरेका छन् ।

मलेसियामा एक लाखभन्दा बढी रोहिङ्ग्याहरू अवैध रूपमा स्थापित व्यवसायिक संस्था र अन्य कम तलबका काम गर्छन् । रासस/एएफपी

प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्