यू-१९ विश्वकप नेपाल बंगलादेशसँग ५ विकेटले पराजित
काठमाडौं, माघ १७ । आइसीसी यू१९ विश्वकप अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसॅग ५ विकेटले पराजित भएको छ ।
जितका लागि १ सय ७० रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले २६ औं ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नेपालका लागि स्पिनर सुभाष भण्डारीले ५ विकेट लिएपनि खेलको नतिजा बदल्न सकेनन् ।
बंगलादेशका लागि अरिफुल इस्लाम र जिशान आलमले अर्धशतक प्रहार गरे । अरिफुलले ३८ बलमा नटआउट ५९ रन जोडे । उनले ७ चौका र २ छक्का प्रहार गरे । जिशानले ४३ बलमा ६ चौका र २ छक्कासहित ५५ रन बनाए ।
टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले १ बल बाँकी हुँदा अलआउट हुँदै १ सय ६९ रन जोडेको थियो । नेपालका लागि मध्यक्रमका ब्याटर विशाल विक्रम केसीले सर्वाधिक ४८ रनको योगदान दिए । १ सय बलको सामना गर्दै ६ चौका प्रहार गरेका विशाल ४३ औं ओभरमा आठौं विकेटको रुपमा आउट भएका थिए ।
खराब सुरुवात गरेको नेपाललाई विशाल र कप्तान देव खनालको साझेदारीले उकासेको थियो । विपिन रावल चौथो ओभरको पाँचौ बलमा मरुफ मृधाको बलमा मोहम्मद रिजवान चौधरीको हातबाट स्लिपमा क्याच आउट भएका थिए । उनले १२ बल खेलेर २ रन बनाए ।
त्यसपछि आकाश त्रिपाठी १३ बलमा ३ रन बनाएर इक्बाल होसेन इमोनको बलमा आउट भए । आठौं ओभरको पाँचौ बलमा रिजवानकै हातबाट क्याच आउट भए ।
अर्जुन कुमाल भने रोहानत बोर्सोनको बलमा नवौ ओभरको तेस्रो बलमा २६ बलमा २ चौका सहित १४ रन बनाएर मृधाको बलमा क्याच आउट भए । तर चौथो विकेटका लागि विशाल र देवले ६२ रनको साझेदारी गरे ।
देव ६० बलमा ३ चौकासहित ३५ रनमा आउट भए । जिशन आलमको बलमा उनी कभरमा क्याच भएका थिए ।
गुलशन झा, दिपक बोहरा र दीपेश कँडेल समान ३-३ रनमा आउट भए । आकाश चन्द पहिलो बलमै एलबीडब्लू धरापमा परे । सुभाष भण्डारीले ३४ बलमा १८ रनको योगदान दिए । दुर्गेश गुप्ताले १ बल बाँकी रहँदा क्याचआउट हुनुअघि १४ बलमा १ छक्कासहित ९ रन जोडे ।
बंगलादेशका लागि रोहनत बोर्सोन र शेख जिबोनले ३-३ विकेट लिए । इकबाल हुसेन, मरुफ म्रिधा र जिशान आलमले १-१ विकेट हात पारे । नेपालले अब अर्को खेल शुक्रबार भारतसँग खेल्नेछ ।
प्रकाशित मिति: १७ माघ २०८०, बुधबार