निर्माणाधीन पुलको खाल्डोमा खसेर प्रहरी सहायक हवल्दारको मृत्यु


 


काठमाडौं, माघ १७ । पुल बनाउन खनेको खाल्डोमा खसेर प्रहरी सहायक हवल्दार रमेश रानाको मृत्यु भएको छ ।

चितवनस्थित नारायणगढ(मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेर रूपन्देही घर भएका ३३ वर्षीय रानाको मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार राना चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित पन्ध्र किलोस्थित नारायणगढ(मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेका थिए ।

खाल्डोमा खसेका रानालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक उमाशंकरप्रसाद शाहले बताए ।

मोटरसाइकलमै सवार ३५ वर्षीय विकास सुनार पुन भने घाइते छन्। अनुहारमा चोट लागेका उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङमा दरबन्दी भई अस्थायी प्रहरी पोष्ट धारापानी गोरखामा कार्यरत प्रहरी सहायक हवल्दार राना गत माघ ११ गतेदेखि बिदामा थिए ।

घटनाबारे थप अनुसन्‍धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्