जुम्लामा कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने


 


जुम्ला, माघ १७ । आगामी फागुन १५ गतेदेखि कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरूप सदरमुकाम खलङ्गा बजारमा प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता जुम्लामा हुने भएको हो । प्रतियोगिताका लागि आवश्यक तयारी भइरहेको जिल्ला फुटबल सङ्घका महासचिव दीपेन्द्रविक्रम हमालले जानकारी दिनुभयो ।

जुम्लामा पहिलोपटक आयोजना हुन लागेको प्रदेशस्तरीय फुटबल प्रतियोगिता फागुन १५ गते सुरु भएर १९ गते सम्पन्न हुने छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग, प्रदेश फुटबल सङ्घ र जिल्ला खेलकुद विकास समितिको समन्वय तथा जुम्ला जिल्ला फुटबल सङ्घको आयोजनामा प्रतियोगिता हुन लागेको एन्फा जुम्लाका अध्यक्ष भरतबहादुर बुढ्थापाले बताउनुभयो । 

आगामी २०८१ मा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरको खेलाडी टोली छनोट हुने छ ।  आउँदो फागुन २४–३० गतेसम्म बागमती प्रदेशको आयोजनामा हुने पुरुष फुटबल प्रतियोगितामा समेत कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने छ । प्रतियोगितामा प्रदेशका १० जिल्लाका खेलाडी सहभागी रहने आयोजकले जनाएको छ । 

जिल्ला फुटबल सङ्घले एक सूचना जारी गर्दै प्रतियोगिताको मिति घोषणा गरेको छ । फागुन ११ गते बेलुका ४ बजेसम्म टोलीको दर्ता गरिसक्नुपर्ने छ । दर्ताका लागि सम्बन्धित जिल्ला खेलकुद विकास समितिको लेटरप्याडमा खेलाडी, प्रशिक्षक र व्यवस्थापकको नामावलीसहितको पत्र सङ्घको इमेलमा पठाउनुपर्ने महासचिव हमालले बताउनुभयो ।  

जिल्लामा फागुन १०–१४ गतेसम्म प्रदेशस्तरीय ‘रेफ्री’ तालिम पनि हुने भएको छ । कर्णाली प्रदेशमै रेफ्री उत्पादन गर्ने हिसाबले रेफ्री तालिमसमेत आयोजना गरिएको सङ्घका महासचिव हमालले जानकारी दिनुभयो । 

तालिमका लागि प्रत्येक जिल्लाबाट तीन जनालाई सम्बन्धित जिल्लाको खेलकुद विकास समिति वा फुटबल सङ्घले सिफारिस गरी फागुन ६ गतेसम्म पत्र पठाइसक्नुपर्ने जनाइएको संघले जनाएको ।

प्रकाशित मिति: १७ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्