कोशी प्रदेशसभाका पदाधिकारीहरुको सुविधा थप्नु गलत : शेखर कोइराला


 


मोरङ, माघ १६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेशसभाका पदाधिकारीहरुलाई भौतिक सुविधा थप्ने कुरा उपयुक्त नभएको बताउनु भएको छ ।

‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत आज विराटनगर महानगरपालिका–७ मा आयोजित कार्यक्रममा उहाँले प्रदेश सरकारले जनताका आधारभूत सुविधा थाप्ने हो तर आफ्नो सेवा सुविधा बढाउने होइन भन्नुभयो ।

यसरी आफैँले आफ्ना लागि सुविधा थप्ने काम गर्दा मुलुकमा लोकतन्त्र नेताहरुलाई मात्र आएको सन्देश जाने भएकाले लोकतन्त्रको फल नागरिकले पनि पाउनेगरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कांग्रेस नेता डा कोइरालाले नेपाली कांग्रेस पार्टी समुदायमा पुगेर जनभावना बुझेर आगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । पार्टीभित्र देखिएका कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने र कांग्रेस देशका कुनाकाप्चासम्म तथा हरेक नेपालीका घरमा पुग्नुपर्ने बताउनुभयो ।

उहाँले अर्को एक प्रसङ्गमा उहाँले स्थानीय सिङ्घिया खोलाको बाढी नियन्त्रण गर्न अस्थायी तटबन्ध र करिडोर निर्माण गरी स्थायी समाधान खोजिने आश्वासन पनि दिनुभयो ।

विराटनगर महानगरपालिकाले जापानी सहयोग संस्था जाइकासँग गरेको सम्झौताले यस नगर क्षेत्रका नागरिकलाई स्वच्छ पानी उपलब्ध हुने विश्वास पनि व्यक्त गर्नुभएको थियो । 

प्रकाशित मिति: १६ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्