सहिदहरू विगत, वर्तमान र भविष्यका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक : प्रधानमन्त्री प्रचण्ड


 


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गर्ने सहिद हरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताएका छन् ।

सहिद दिवस २०८० का अवसरमा आज शुभकामना दिँदै उनले सो कुरा बताएका हुन् । उनले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति सहिद ले देखेका सपना र लिएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न संकल्प गर्नुपर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले सहिद को योगदानलाई सम्मान गर्दै उनीहरूको योगदान र कृति चीरस्थायी तुल्याउने एवं सहिद परिवारको उचित सम्मान, संरक्षण र जीवनवृत्तिका निम्ति समर्पित हुने दिनका रूपमा सहिद दिवस रहिआएको बताए ।

उनले भने, “यही यथार्थलाई आत्मसात् गर्दै सरकारले इतिहासका विभिन्न कालखण्डमा सहादत प्राप्त गर्ने सपूतलाई राष्ट्रिय सहिद घोषणा गर्दै उनीहरूको सम्मान र परिवारको संरक्षण र अभिभावकत्वको पक्षलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ ।”

प्रधानमन्त्री प्रचण्डले पहिचान र अधिकारका निम्ति विभिन्न वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको नेतृत्वमा भएका न्यायपूर्ण आन्दोलनको बलमा नै वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्था प्राप्त भएको उल्लेख गर्दै वर्तमानमा प्राप्त उपलब्धिको रक्षा र सुदृढ गर्दै थप अधिकारका निम्ति समर्पित हुनु नै सहिद हरूप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निम्ति कर्तव्यनिष्ठ भएर अगाडि बढ्न सहिद दिवसबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: १६ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्