सुदूरपश्चिममा दलको नेता फेर्दा माओबादीमा लफडा, निर्णय सच्याउन निर्देशन


 


काठमाडौँ, माघ १४ । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिममा प्रदेश संसदीय दलको नेता परिवर्तन गर्दा लफडा सुरु भएको छ । एक पक्षले बहुमतबाट प्रदेश संसदीय दलको नेता परिवर्तन गरेपछि लफडा सुरु भएको हो ।

दलको नेता परिवर्तन गर्ने निर्णय लगत्तै पार्टीको प्रदेश कमिटीले उक्त निर्णय तत्काल सच्याउन निर्देशन दिएको छ ।

प्रदेश अध्यक्ष हरिराम चौधरी (उत्सव) को अध्यक्षतामा बसेको माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी पदाधिकारी बैठकले दलको नेता परिवर्तन गर्ने निर्णय सच्याउन संसदीय दललाई निर्देशन दिएको हो ।

संसदीय दलका नेता खगराज भट्टलाई कुनै जानकारीबिना दलको नेताबाट हटाइएको विषयले ध्यानाकयर्षण भएको भन्दै उक्त निर्णय तत्काल हटाउन निर्देशद दिएको माओबादी केन्द्रले जनाएको छ ।

शुक्रबार उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले बहुमतबाट भट्टलाई दलको नेताबाट हटाएर मानसिंह धामीलाई नेता बनाउने निर्णय गरेको थियो ।

प्रदेश कमिटीले संसदीय दलभित्रको समस्यालाई गम्भीरतापूर्वक लिएर केन्द्रीय कार्यालयको उपस्थितिमा विवाद समाधान गर्ने पहल गर्नसमेत आग्रह गरेको छ ।

प्रकाशित मिति: १४ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्