बाक्लो हुस्सुका कारण नेपालगन्ज विमानस्थलबाट हुने हवाई उडान प्रभावित


 


नेपालगन्ज । नेपालगन्ज विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको छ ।

शीतलहर र बाक्लो हुस्सुका कारण भिजिबिलिटी नहुँदा शनिबार सो विमानस्थलबाट हुने कुनै पनि उडान नभएको नेपालगन्ज विमानस्थलका प्रमुख सुरेश खनालले जानकारी दिए ।

प्रमुख खनालले नेपालगन्ज विमानस्थलबाट पहाडी जिल्ला हुम्ला, बाजुरा र रारा जाने समिट र तारा एयरलाइन्सका ६ विमानको उडान नभएको उल्लेख गरे ।

यस्तै, काठमाडौं जाने श्री एयरलाइन्सका दुई, यती एयरलाइन्सको एक र बुद्ध एयरलाइन्सका ६ उडान नभएको उनले बताए । यसबाहेक श्री एयरलाइन्सको ‘माउन्टेन फ्लाइट’ पनि भएन ।

बाक्लो हुस्सु र शीतलहरका कारण यहाँको जनजीवन प्रभावित भएको छ । नेपालगन्जमा स्थानीयले विभिन्न चोकमा दाउरा बालेर आगो तापेको दृश्य जतासुकै देख्न पाइन्छ ।

केही साताअघि चिसो बढेको भन्दै नेपालगन्ज उपमहानगरपालिकाले सामूहिक रूपमा आगो ताप्न दाउरा वितरण गरेको थियो । रासस

प्रकाशित मिति: १४ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्