आकाशको उत्कृष्ट बलिङमा नेपालले पायो मध्यम लक्ष्य
काठमाडौँ, माघ १२ । तिव्र गतिका बलर आकाश चन्दको उत्कृष्ट बलिङको मद्दतले नेपालले आइसिसी यु-१९ विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १४५ रनमा समेटेको छ ।
सुरुवातदेखि नै घातक रहेको नेपाली बलिङ लाइनअपले अफगानिस्तानलाई ४०.१ ओभरमा १४५ रनमा समेटेको हो ।
टस हारेर पहिले बलिङ गरेको नेपालका लागि आकाश चन्दले सर्वाधिक ५ विकेट लिए । उनले ८ ओभर बलिङ गर्दै ३४ रन दिएर ५ विकेट लिएका हुन् । यस्तै दिपेश कंडेलले ८ ओभरमा १ मेडन सहित १७ रन दिएर २ विकेट लिए । गुलशन झा, सुवाष भण्डारी र तिलक भण्डारीले समान एक(एक विकेट लिए ।
नेपालले पहिलो दुई ओभरमा नै पहिलो दुई विकेट लिएको थियो । पहिलो ओभरमा गुलशन झाको चौथो बलमा नुमान शाह शुन्यमा आकाश डुम्रेको हातबाट क्याच आउट हुन पुगे । यस्तै दोस्रो ओभरमा आकाश चन्दको बलमा खालिद ताइनवाल विकेटकिपर बिपिन रावलको हातबाट क्याच आउट भए ।
जम्शिद जाद्रान १४ बलमा ३ रन बनाउँदै आकाशकै बलमा बोल्ड भए । सोहेल खान पनि आकाशको बलमा देवको हातबाट क्याच आउट भए । अलि अहमदलाई पनि आकाशले शुन्यमा पेभेलियन फर्काए । हसन इशाखिल पनि ३५ बलमा २० रन बनाएर आकाशकै बलमा आउट भए । यो विकेट सँगै आकाशले ५ विकेट पूरा गरेका थिए ।
आठौ नम्बरमा आएका अल्लाह घजनफरले भने विष्फोटक इनिङ खेले । उनी २१ बलमा ४ चौका र ३ छक्का सहित ३७ रन बनाएर आउट भएका थिए । शुन्यमा किपर बिपिन रावलले उनको क्याच छोडेपछि उनी विष्फोटक ब्याटिङ गर्दै तिलक भण्डारीको बलमा सुवाश भण्डारीले क्याच आउट भए ।
अरब गुललाई भने दिपेश कंडेलले शुन्यमा आउट गरे । नवौ विकेटका लागि भने कप्तान नासिर खान र फरिदून दावुदजाइ मिलेर ५५ रनको साझेदारी गरेका थिए । सो साझेदारी लाई दिपेश कंडेलले नासिरलाई और गरेर गरेका थिए । नासिरले ८३ बलमा ३ चौका सहित ३१ रन बनाए । फरिदूनलाई सुवाष भण्डारीले २९ रनमा अन्तिममा आउट गरे ।
आज जित हासिल गर्ने टोलीले सुपर सिक्समा आफ्नो स्थान पक्का गर्ने छ । पराजित हुने टोली भने १३औ स्थानका लागि खेल्ने छ ।
प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार