लुम्बिनीमा कांग्रेसकी सापकोटा र माओवादीका सुवेदी निर्वाचित


 


बुटवल, माघ ११ । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् ।

महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भएकी छन् । सापकोटाले ५४३५ मत भार प्राप्त गरी विजयी हुँदा नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरिन् ।

अन्य तर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित भएका छन् । रोल्पाका सुवेदीले नेकपा एमालेका झपेन्द्र जीसीलाई पराजित गरेका हुन् ।

अन्य तर्फको मत परिणाम औपचारिक रुपमा घोषणा हुन बाँकी रहेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले बताए । दुई पदमा ६ जनाले प्रतिस्पर्धा गरेका थिए ।

जनमत पार्टीको तर्फबाट अन्य क्लस्टरमा नवलपरासीका बालगोविन्द चौधरी उम्मेदवार थिए । भने महिलातर्फ राप्रपाकी विजयालक्ष्मी सिंह उम्मेदवार थिइन् ।

लुम्बिनी प्रदेशमा १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जना र प्रदेशसभाका ८७ जना सांसद मतदाता थिए ।

३०५ जना मतदाता रहेकोमा प्रदेश सभा तर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका २१८ मतमध्ये २१६ मत गरी ३०३ मत खसेको थियो ।

प्रदेश सभाका सदस्यको प्रति मतदाता मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको प्रति मतदाता मतभार १९ रहेको छ ।

प्रकाशित मिति: ११ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्