राष्ट्रियसभा निर्वाचन : बागमतीमा बालेनसहित पाँच जनप्रतिनिधि अनुपस्थित


 


हेटौँडा, माघ ११ । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशको मतदान अन्तिम चरणमा पुगेको छ ।

मकवानपुरको हेटौँडामा भइरहेको निर्वाचनमा अन्तिम चरणमा पुगेको बागमती प्रदेश निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले बताए । यद्यपि मतदानको समय दिउँसो ३ बजेसम्म रहनेछ ।

उनका अनुसार मतदाता रहेका प्रदेशसभा सदस्य ११० जना मध्ये ९९ जनाले मतदान गरिसकेका छन् । त्यस्तै २३७ स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये २२९ जनाले पनि मतदान गरिसकेका छन् ।

दुई सांसदर काठमाडौं महानगरप्रमुखसहित पाँच जना जनप्रतिनिधि अनुपस्थित भएका छन् ।

नुवाकोटको किस्ताङ गाउँपालिकाका अध्यक्ष चेक बाउन्सको मुद्दा परेकाले उनी भने निर्वाचनमा सहभागी हुन गएका छैनन् । त्यस्तै काभ्रेको चौँरी देउराली गाउँपालिकाका उपाध्यक्ष शेरबहादुर लामा बिरामी भएकाले मतदानमा सहभागी भएका छैनन् ।

काठमाडौँका मेयर बालेन साह पनि मतदानमा सहभागी छैनन् । हाम्रो नेपाली पार्टीका २ सांसद शैलेन्द्र बज्राचार्य र सरिता खड्गी पनि मतदानमा सहभागी भएका छैनन् । यो सबै जोड्दा १६३ मतभार घट्ने भएको छ ।

बागमती प्रदेशका ४ सिटका ६ दलका १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनबाट महिलातर्फ कांग्रेसका विष्णुदेवी पौडेल र अन्यतर्फ जीतजंग बस्नेत उम्मेदवार छन् भने अपाङ्गतातर्फ माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल भिड्दै छन् ।

प्रकाशित मिति: ११ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्