राष्ट्रियसभा सदस्य निर्वाचन : यी हुन् उम्मेदवार


 


काठमाडौँ – राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आज मतदान हुँदै छ ।

२०७४ फागुनमा निर्वाचित राष्ट्रियसभा सदस्यको पदावधि फागुन २० गते सकिन लाग्दा अर्को छ वर्षे पदावधिका लागि १९ सदस्यको निर्वाचन हुन लागेको छ । अर्का एक जना मनोनीत हुने छन् ।

निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनमा सात प्रदेशमा १९ पदका लागि आठ राजनीतिक दलबाट ५१ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् ।

नेकपा एमालेको सबै १९ पदमा उम्मेदवार छन् । नेपाली कांग्रेसका १०, नेकपा माओवादी केन्द्रका छ, नेकपा एकीकृत समाजवादीका दुई र जनता समाजवादी पार्टीका एक जना उम्मेदवार छन् । जनमत पार्टीका दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सात र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का चार जना उम्मेदवार छन्।

को–को छन् चुनावी प्रतिस्पर्धामा

राष्ट्रियसभा सदस्यका लागि सातै प्रदेशबाट ५० जना चुनावी मैदानमा छन्। यद्यपि, ५१ उम्मेदवार भए पनि कोशीमा एमाले–राप्रपा गठबन्धन गर्दै एक सिट घटाएका छन्।
सत्ता गठबन्धनबाट कोशी प्रदेशको अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पा कार्की उम्मेदवार छन् । कोशीमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीभित्र चुनावी तालमेल भएको छ।

सिटौलाविरुद्ध राप्रपाका उद्धव पौडेल र कार्कीसँग एमालेकी रुक्मिणी कोइराला भिड्दैछन् । यस्तै मधेस प्रदेशमा राष्ट्रियसभाका २ सिटका लागि ५ जना चुनावी मैदानमा छन्। गठबन्धनबाट अन्यतर्फ कांग्रेसका आनन्द ढुंगाना र महिलातर्फ जसपाकी पूजा चौधरी उम्मेदवार छन्।

गठबन्धनका उम्मेदवार ढुंगाना र चौधरीविरुद्ध एमालेले अन्यतर्फ विजेता झा र महिलातर्फ उषादेवी थरुनी मैदानमा पठाएको छ । यता सत्ता गठबन्धनमा रहेका जनमत पार्टीले पनि अन्यतर्फ रामशंकर महासेठ प्रतिस्पर्धामा उतारेको छ।

मधेस प्रदेशको अन्यतर्फ ढुंगाना, झा र महासेठबीच भिडन्त हुने छ भने महिलातर्फ चौधरी र थारुनीबिच प्रतिस्पर्धा हुनेछ।

यस्तै बागमती प्रदेशमाका ४ सिटका लागि १५ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । गठबन्धनबाट महिलातर्फ कांग्रेसका विष्णुदेवी पौडेल र अन्यतर्फ जीतजंग बस्नेत उम्मेदवार छन् भने अपांगतातर्फ माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल भिड्दै छन्।

एमालेले महिलातर्फ रोचकुमारी चौलागाईं, दलिततर्फ ध्रुवराज विक, अपांङ्गतातर्फ त्रिलोचन निर्मल पौडेल र अन्यतर्फ विवेक देवकोटालाई चुनावी मैदानमा खडा गरेको छ । यता राप्रपाबाट बागमती प्रदेशमा अन्यतर्फ हेम्जङम गुरुङ, महिलातर्फ बालिका डल्लाकोटी र अपाङगतर्फ भरतमणि भट्टको उम्मेदवारी छ भने नेमकिपाले महिलातर्फ कृष्णलक्ष्मी दुवाल, दलिततर्फ संगिता नेपाली, अपांगतातर्फ हिमालयश्वर मूल र अन्यतर्फ श्रीकृष्ण महर्जन उम्मेदवार बनाएको छ ।

अन्यतर्फ बस्नेत, देवकोटा, गुरुङ महर्जनबिच प्रतिस्पर्धा हुने छ भने महिलातर्फ पुडासैनी, चौलागाईं, डल्लाकोटी र दुवालबिच भिडन्त हुने छ। यस्तै दलिततर्फ रिजाल, विक र नेपालीबिच प्रतिस्पर्धा पक्का भएको हो भने अपांगतातर्फ अधिकारी, पौडेल, भट्ट र मूल भिड्ने छन् ।

गण्डकी प्रदेशमा गठबन्धनबाट अन्यतर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ र अपाङ्गतातर्फ पदम परियार चुनावी प्रतिस्पर्धामा छन् भने महिलातर्फ माओवादीकी मनरुपा शर्मा सुवेदीले मैदानमा पठाएको छ । एमालेबाट महिलातर्फ सम्झना देवकोटा, अन्यतर्फ चक्रबहादुर पराजुली र अपांगतर्फ हेमन्त शेरचना चुनावी मैदानमा छन् भने राप्रपाले पनि अन्यतर्फ रोमबहादुर भण्डारी र महिलातर्फ गोममाया श्रेष्ठलाई अगाडि सारेको छ । अन्यतर्फ श्रेष्ठ, पराजुली र भण्डारीको प्रतिस्पर्धा हुने छ भने महिलातर्फ सुवेदी, देवकोटा र श्रेष्ठ भिड्ने छन् । अपाङगतर्फ परियार र शेरचनाबिच प्रतिस्पर्धा हुने छ ।

लुम्बिनी प्रदेशमा गठबन्धनबाट अन्यतर्फ माओवादीका झक्कु सुवेदी र महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा चुनावी प्रतिस्पर्धामा छन्। एमालेका उम्मेदवारबाट महिलातर्फ तुलसा कुमारी केसी र अन्यतर्फ झपेन्द्रबहादुर घर्ती क्षेत्रीको उम्मेदवारी परेको छ । राप्रपाले महिलातर्फ विजयलक्ष्मी सिंहलाई मैदानमा पठाउँदा जनमत पार्टीबाट बालगोविन्द चौधरी पनि प्रतिस्पर्धामा छन् ।

अन्यतर्फ सुवेदी, घर्ती, थापा र चौधरी गरी चार जना भिड्दैछन् भने महिलातर्फ सापकोटा, सिंह र केसीबिच प्रतिस्पर्धा हुने छ ।

यस्तै कर्णाली प्रदेशमा गठबन्धनबाट अन्यतर्फ कांग्रेसका कृष्णबहादुर रोकाया, दलीततर्फ माओवादीका विष्णुबहादुर विश्वकर्मा र महिलातर्फ एकीकृत समाजवादीका सावित्री मल्ल चुनावी मैदानमा छन् ।

यता एमालेबाट महिलातर्फ विमलाकुमारी शाही, अन्यतर्फ डिल्लीप्रसाद भट्ट र दलिततर्फ हिक्मत विक उम्मेदवार छन्। अन्यतर्फ रोकाय र भट्टको प्रतिस्पर्धा हुने छ भने दलीतर्फ विश्वकर्मा र विकबिच भिडन्त हुने छ। महिलातर्फ मल्ल र शाही भिड्ने छन्।

सुदूरपश्चिम प्रदेशमा गठबन्धनबाट अन्यतर्फ कांग्रेसका बलदेव बोहोरा र अपांगतातर्फ नारायणदत्त भट्ट उम्मेदवार छन् भने महिलातर्फ माओवादीकी रेणु चन्द चुनावी मैदानमा छन्। यस्तै एमालेबाट महिलातर्फ सावित्रा घिमिरे, अपांगतातर्फ रामचन्द्र जोशी र अन्यतर्फ ईश्वरीप्रसाद खरेलले उम्मेदवार छन्।

अन्यतर्फ बोहोरा र खरेल भिड्दा महिलातर्फ चन्द र घिमिरेबिच प्रतिस्पर्धा हुने छ । यस्तै अपांगतातर्फ भट्ट र जोशी भिड्ने छन्। भोलि हुने निर्वाचनमा ५० जना उम्मेदवारको भाग्य परीक्षा २ हजार ४७ मतदाताको हातमा छ।

प्रकाशित मिति: ११ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्