यू१९ विश्वकपमा नेपाल पाकिस्तानसँग पराजित


 


काठमाडौं, माघ १० । आइसीसी यू१९ विश्वकप अन्तर्गत समूह डी को दोस्रो खेलमा नेपाल पाकिस्तानसंग पराजित भएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा पाकिस्तानले नेपाललाई ५ विकेटले पराजित गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय ९८ रन पाकिस्तानले ४८ औं ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

पहिलो खेलमा अफगानिस्तानलाई हराएको पाकिस्तानले लगातार दोस्रो जितसँगै सुपर सिक्समा स्थान पक्का गरेको छ । लगातार दोस्रो हार बेहोरेको नेपालको पनि सुपर सिक्समा अघि बढ्ने सम्भावना बाँकी छ । यसका लागि नेपालले अन्तिम खेलमा शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

अर्धशतक पूरा गरेका अजान अवाइसले विजयी चौकाका साथ पाकिस्तानलाई लगातार दोस्रो जित दिलाए । उनले ८२ बलमा ६ चौकासहित ६३ रन जोडे । हरुन अर्शद १५ रनमा नटआउट रहे । उनले १८ बलको सामना गर्दै २ चौका प्रहार गरेका थिए ।

जवाफी ब्याटिङ गर्ने क्रममा पाकिस्तानले उत्कृष्ट सुरुवात पाएको थियो । पहिलो विकेटका लागि बनेको ८१ रनको साझेदारी आकाशले २२ औं ओभरमा मात्र तोड्न सके । उनले पहिलो बलमा शामिल हुसेनलाई आउट गरे । ५९ बलमा ३७ रन जोडेका उनी उत्तम थापा मगरको मिड विकेटमा हातबाट समातिए ।

तेस्रो बलमा अराफात मिन्हासले १ रन लिए । चौथो बलमा अर्का ओपनर शाहजिब खान डिप स्क्वायर लेगमा आकाश त्रिपाठीबाट समातिए । उनले ७० बलमा ३७ रन जोडे ।

२६ औं ओभरमा आकाशले अराफात मिन्हासलाई ८ रनमा आउट गर्दै नेपाल खेलमा फर्कने संकेत दिए । आकाश त्रिपाठीले २८ औं ओभरको अन्तिम बलमा कप्तान साद बेगलाई खाता नखोल्दै पेभेलियन फर्काएपछि पाकिस्तान दबाबमा परेको थियो । २८ ओभरको समाप्तिमा पाकिस्तान १०४-४ को स्थितिमा थियो ।

तर पाँचौ विकेटका लागि अहमद हसान र अजानले ६४ रनको साझेदारी गर्दै पाकिस्तानलाई जिततर्फ डोर्याए । हसान ४३ औं ओभरमा दीपेश कँडेललाई आक्रमण गर्ने धुनमा स्टम्प्ड आउट भए । उनले ३७ बलमा ४ चौकासहित २९ रन जोडे ।

नेपालका लागि आकाश चन्दले ३ विकेट लिँदा दिपेश कँडेल र आकाश त्रिपाठीले १-१ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ५० औं ओभरको अन्तिम बलमा अलआउट हुँदै १ सय ९७ रन जोड्यो । नेपालले राम्रो सुरुवात पाएपनि मध्यक्रममा विकेट गुमेपछि अपेक्षित रन बन्न सकेन ।

नेपालले ५० ओभर ब्याटिङ गरेपनि ११ चौका र ३ छक्का मात्र प्रहार गर्न सक्यो । पुन: एकपटक तल्लोक्रमका ब्याटरले नेपालका लागि महत्त्वपूर्ण योगदान दिँदै मध्यम योगफलसम्म पुर्याए ।

नेपालका लागि ओपनर विपिन रावलले सर्वाधिक ३९ रनको योगदान दिए । उनले ६८ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । तल्लोक्रममा दीपक डुम्रेले ५८ बलमा १ छक्कासहित २६ रनको योगदान दिए । सुभाष भण्डारीले २४ बलमा २० रन जोडे । आकाश चन्द ११ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नटआउट रहे ।

अघिल्लो खेलमा न्युजिल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका अर्जुन पाँचौ ओभरको दोस्रो बलमा आउट भए । अहमद हुसेनको बलमा बोल्ड हुनुअघि अर्जुनले १२ बलको सामना गर्दै ६ रन जोडे ।

आकाश त्रिपाठी १० बलमा ६ रन जोड्दै सातौं ओभरमा क्याच आउट भए । त्यसपछि देव र विपिनले इनिङ सम्हाल्ने प्रयास गरेपनि देव खराब सट खेल्दै आउट भए । उनले ३७ बलमा ३ चौकासहित २३ रन जोडे । लगत्तै उत्तम मगर पनि ४ रनमा आउट भए । त्यसपछि भने नेपालले बाउन्ड्री जोड्न सकेन ।

२७ औं ओभरमा विपिन रावल आउट हुँदा नेपाल ९६-५ को स्थितिमा पुग्यो । गुलशन झा ४७ बल खेल्दै विना कुनै बाउन्ड्री १८ रन जोड्दै आउट भए । अराफात मिन्हासबाट बोल्ड हुनुअघि दिपेश कँडेलले १७ बलमा २ चौकासहित १३ रनको योगदान दिए । सुभाष भण्डारी अन्तिम ओभरको पाँचौ बल र दुर्गेश गुप्ता अन्तिम बलमा उबेद शाहको बलमा उनैबाट क्याच आउट भए ।

पाकिस्तानका लागि मिन्हासले १० ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । अर्का स्पिनर अलि अस्फन्दले १० ओभरमा १ विकेट लिँदा १५ रनमात्र खर्चिए । उबेद शाह र अहमद हुसेनले २-२ तथा खुबेब खलिल र मोहमद जिशानले १-१ विकेट लिए ।

नेपालले अब अन्तिम खेलमा अफगानिस्तानसँग खेल्न बाँकी छ । समूहको शीर्ष ३ स्थानमा रहने टोलीले सुपर ६ को यात्रा तय गर्नेछन् । त्यसपछि समूह ए का टोलीले समूह डी तथा समूह बी र समूह सी को टोलीले एक अर्कासँग खेल्नेछन् । सुपर सिक्सको दुई समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन् । समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका अन्य समूहको पुछारको टोलीसँग खेल्नेछन् ।

प्रकाशित मिति: १० माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्