सूर्य नेपाल इस्टर्न ओपन सुरु, पहिलो दिन शुक्रलाई एक स्ट्रोकको अग्रता
धरान, माघ १० । सूर्य नेपाल गल्फ टुर २०२३(२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपन सुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई ३-अन्डर ६७ को स्कोरमा शीर्षस्थानमा रहेका छन् ।
डिफेन्डिङ च्याम्पियन शुक्रले धरानका अर्का गल्फर नीरज तामाङलाई १८ होलको समाप्तीमा १ स्ट्रोकले पछि पारे । २-अन्डर ६८ सहित नीरज तामाङ दोस्रो स्थानमा छन् ।
एमेच्योरद्वय युवराज भुजेल र पदम हाङ संयुक्तरुपमा तेस्रो स्थानमा रहे । उनीहरूले १-अन्डर ६९ स्कोर गरे। पुर्व नम्बर एक गल्फर भुवन नगरकोटी इभन-पार ७० सहित पाँचौ स्थानमा र १-ओभर ७१ स्कोरमा रामे मगर छैटौं स्थानमा रहेका छन् ।
स्थानीय प्रो सबिन सापकोटा र देवराज पाख्रीनले २-ओभर ७२ सहित संयुक्तरुपमा सातौं स्थान बाँडे। भेट्रान गल्फर दीपक मगर ३-ओभर ७३ सहित नवौं स्थानमा रहदा धन बहादुर थापा र एमेच्योर गजेन्द्र गुरूङ संयुक्तरुपमा दशौं स्थानमा रहेका छन। उनीहरूले ४-ओभर ७४ मा पहिलो दिनको खेल सकाए।
भारतीय गल्फ टुरमा २०२४ सिजनको लागि कार्ड जोगाएर फर्किएका शुक्रले आज घरेलु कोर्स धरान गल्फ क्लबमा राम्रो सुरुवात गरे । ५-पारको तेस्रो होलमा इगलको सफलता प्राप्त गरे तर लगतै चौथो होलमा डबल बोगीको सामना गरे ।
यसपछि पाँचौ देखि सातौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गर्दै फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए। ब्याक नाइनमा उनले लय गुमाए । १३औं होलमा दिनको दोस्रो डबल बोगी खेपेका शुक्रले १२औं र १६औं होलमा एक(एक सट बचाए। तर १७औं होलको बोगीले ब्याक नाइन १(ओभर ३५ मा पुरा गरे ।
धरानका अर्का प्रो नीरज तामाङले पहिलो दिन दोस्रो स्थानमा खेल सकाउने क्रममा उत्कृष्ट सुरूवात गरे। तेस्रो, पाँचौ र नवौं होलको बर्डीले फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए। यसपछि १४औं र १५औं होलमा लगातार दुई बोगी प्रहार गरे । १६औं होलको बर्डीले ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे ।
एमेच्योर गल्फर युवराजले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाउने क्रममा तेस्रो र पाँचौ होलमा एक(एक सट बचाए। १२औं होलमा बर्डी प्रहार गरे। तर १४औं १६औं होलको बोगीले ब्याक नाइन १-ओभर ३५ मा सकाए।
अर्का एमेच्योर पदमले पहिलो, छैटौं, आठौं र नवौं होलमा बर्डी प्रहार गरे। तर चौथो होलमा डबल बोगी र पाँचौ होलमा बोगी खेप्दा फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए । यसपछि १०औं र १८औं होलमा बर्डी प्रहार गरेका पदमले १४औं र १५औं होलमा एक-एक सट खेर फाले ।
तीन दिने ५४ होलको प्रतियोगितामा ३० प्रो र १७ एमेच्योर गल्फर गरी कुल ४७ जनाको सहभागीता रहेको छ। ३६ होलको समाप्तीमा कट लागु हुनेछ । जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन् । यो पटक देखि एमेच्योर खेलाडीको हकमा भने प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागीता जनाउन पाउनेछन् ।
कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, तथा दोस्रो र तेस्रो हुनेले क्रमशः ९६ हजार र ७२ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै उत्कृष्ट २१ मा पर्न सफल प्रो गल्फरले नगद हात पार्नेछन् । प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो-एम प्रतियोगिता हुनेछ ।
पीजीए नेपालद्वारा आयोजित सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत कुल आठ प्रतियोगिता हुनेछन्। जसमा कुल ६५ लाख नगद पुरस्कार रहेको छ ।
प्रकाशित मिति: १० माघ २०८०, बुधबार