प्रधानमन्त्री प्रचण्ड खुलेरै चीनकाे पक्षमा उभिए


 


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक चीन नीति मानिसकेपछि ताइवान स्वतन्त्र हुनुपर्छ भन्ने पक्षमा नेपाल नरहेको बताएका छन् ।

आइतबार बिहान तीन दिने युगाण्डा भ्रमण सकेर फर्किएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ताइवानको बारेमा नेपालको सुरुदेखिकै नीति चीनकै अंग हो भन्ने रहेको स्पष्ट पारेका हुन् ।

उनले ताइवान चीनको हो भन्दैमा नेपालको असंलग्न परराष्ट्र नीति नडगमगाउने दाबी गरे । उनले भने, ‘ताइवानको कुरा पनि जोडेर राख्नुभयो ।

ताइवानको विषयमा नेपालको सुरुदेखिको नीति के हो भने एक चीन नीति भन्दा ताइवान पनि चीनकै अंग हो भन्ने नीति नेपालको सुरुदेखि नै रही आएको छ । त्यो भन्दा बाहिर हामीले बनाएका छैनौँ । एक चीन नीति मानिसकेपछि हामी ताइवान अलग हुनपर्छ भन्ने नीतिको पक्षमा छैनौँ ।’

प्रधानमन्त्री दाहालले ताइवान चीनबाट अलग हुनुपर्छ भन्ने नेपालको नीति नरहेको स्पष्ट पारे ।

प्रकाशित मिति: ७ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्