कम्युनिस्ट नेता देव गुरुङमाथि भ्रष्टाचारको आरोप


 


काठमाडौं । नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीले पार्टी महासचिव देव गुरुङमाथि भ्रष्टाचारको आरोप लगाउनुभएको छ । पार्टीलाई बुझाएको स्पष्टीकरण पत्रमा केसीले महासचिव गुरुङ नै विभिन्न भ्रष्टाचारका काण्डमा मुछिएको आरोप लगाउनुभएको हो । वैकल्पिक केन्द्रीय सदस्य केसी र उहाँको सचिवालयका एकजनाले भूकम्प प्रभावितलाई राहत दिन जाजरकोट पुगेकी एक चिनियाँ महिलामाथि हातपात गरेको आरोपमा केसीमाथि पार्टीले स्पष्टीकरण सोधेको थियो । चिनियाँ कम्युनिष्ट पार्टीले पठाएको सहयोग सामग्रीलाई महासचिव गुरुङले भनसुन गरी आफ्नो भदैनीको पति रहेका मुक्ति मरासिनीको संस्था ग्लोबल को-ओपरेसन फर डेभलपमेन्टलाई दिलाएको र यसको भ्रष्टाचारबाट हुने आम्दानीमा दुवै हिस्सेदार रहेको केसीको दाबी छ ।

उहाँले दुवैमाथि पार्टी र सरकारले गम्भीरतापूर्वक छानविन गर्न मागसमेत गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालयलाई लेखेको स्पष्टीकरण पत्रमा वैकल्पिक केन्द्रीय सदस्य केसीले लेख्नुभएको छ, ‘मरासिनीले भने, अरू पार्टीले मजाले खाका छन् । खान जानेका छन् तपाईंहरू खान नजानेर यत्रो सानो पार्टी भाको छ । खानुपर्छ कमरेड, हामीलाई कसैको भर्पाई दिनुस्, समान बुझेर लानुस् र मजाले खानुस् । उनले निष्फिक्री यो कसरी खान र लुट्न सकिन्छ भनेर प्रशिक्षण चलाउन थाले । मेरा आस्थाका धरोहर महासचिव कमरेडले त्यो मरासिनीलाई मज्जाले हप्काउलान् भनेको त मक्ख परेर सुनेका छन् । मैले यस्तो नांगो लुटपाटको सल्लाह कहिल्यै देखेको सुनेको थिइनँ । महासचिव कमरेड त्यो रात सम्झिनुस् । मातृका दाइ अर्कै कोठामा हुनुहुन्थ्यो । मलाई लाग्छ उहाँ त्यही भएको भए मरासिनीको सातो जान्थ्यो ।’

यस्तो घटना हुँदासमेत आफूलाई नै स्पष्टीकरण सोधिएकोप्रति असन्तुष्टि जनाउँदै वैकल्पिक केन्द्रीय सदस्य केसीले स्पष्टीकरण पत्रमा लेख्नुभएको छ, ‘मेरो पार्टीको अध्यक्ष र स्थायी कमिटीले राम्ररी विचार गरोस्, मलाई कारबाही गर्ने हो कि यी नैतिक हराम महासचिव र जनताको नासोबीच बाटोमा लुट्ने प्रदेश अध्यक्ष जस्तालाई ? यो पार्टी चोरको चौतारी हो ? साधुलाई सुली हो ?’ नेता केसीले पार्टीका अध्यक्ष देशको प्रधानमन्त्रीसमेत भएकाले भूकम्प प्रभावितको राहतको नाममा हुने भ्रष्टाचार र अनियमितताको गम्भीरतापूर्वक छानविन गर्न पनि माग गर्नुभएको छ ।

रुकुम पश्चिमका केसीमाथि गत २८ पुसमा बसेको पार्टी स्थायी समिति बैठकले राहत लिएर पुगेकी चिनियाँ अधिकारीमाथि हातपात भएको घटनामा स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । पार्टीले सोधेको स्पष्टीकरणको ५ माघमा जवाफ लेख्दै केसीले महासचिव गुरुङमाथि उल्टै अनियमितताको आरोप लगाउँदै छानविनको माग गर्नुभएको हो । साथै, रुकुम पश्चिमको आठबिसकोटका लागि भनेर छुट्याएको राहत पनि महासचिव गुरुङ र प्रदेश अध्यक्ष विमला केसीको मिलेमतोमा जाजरकोटको नलगाड गाउँपालिका र रुकुमकै सानीभेरी गाउँपालिका पठाइएको तर भर्पाई भने आठबिसकोटकै बनाएको नेता केसीको आरोप छ । यस विषयमा पार्टीमा कुरा उठाउँदा महासचिव गुरुङ र प्रदेश इञ्चार्ज मातृका यादवले विमला केसीले सार्वजनिक माफी मागिसकेको र यसलाई सार्वजनिक नगर्न भनेको विषय पनि जवाफमा केसीले उल्लेख गर्नुभएको छ ।

नेता केसीले घटनाको विवरणसहित पार्टीलाई जवाफ लेख्दै उक्त कुटपिटको घटना आकस्मिक भएको भन्दै कारबाही नगरी नहुने लागेको भए अरू नै उपाय रोज्न महासचिव गुरुङ र माओवादीकी कर्णाली प्रदेश अध्यक्ष विमला केसीलाई सुझाव दिनुभएको छ । स्पष्टीकरणमा केसीले लेख्नुभएको छ, ‘महासचिव कमरेड र विमलालाई मलाई कारबाही नगरी नहुने भन्ने लागेको छ भने अरू नै उपाय खोज्नु ।’

चिनियाँ महिलाले आफ्नो केही दूरीमा रहेर अंग्रेजीमा भाषण गरेको र त्यहाँ रहेका अन्य मजदुरले उनले बोलेको केही नबुझी सुनिमात्रै रहेको केसीले उल्लेख गर्नुभएको छ । आफ्नो भान्सेले १२ कक्षा पढ्दै गरेको र अंग्रेजीमा गरेको भाषण बुझेपछि हातपात गरेको केसीले स्वीकार गर्नुभएको छ । तर, आफूलाई उसले हातपात गर्छ भन्ने पूर्वानुमान नभएको र रोक्न नसकेको दाबी गर्दै केसीले स्पष्टीकरणमा लेख्नुभएको छ, ‘म अलि पर कुुर्सीमा बसिरहेको मानिसले एकाएक प्रहार गर्नेलाई कसरी रोक्नु ? भाषण सुनेर चुपचाप उभिरहेको त्यो केटो भित्रभित्रै रिसाइसकेको छ र त्यसले आक्रमण गर्छ भनेर मैले कसरी थाहा पाउने ? कसरी रोक्ने ? अध्यक्ष कमरेड यो प्रकारले हुने घटनालाई रोक्ने कुनै उपाय भएको भए मलाई बताइदिनु ।’ मानिसको मनोविज्ञान बुझ्न नसकेकै कारण अघिल्ला महिनामा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार रोक्न नसकिएको भन्दै केसीले लेख्नुभएको छ, ‘त्यति ठूला नेताहरूलाई त राज्य संयन्त्रले जोगाउन सकेन । म यो पार्टीको वैकल्पिक केन्द्रीय सदस्यले कसरी जोगाउन सकूँला ?’

वैकल्पिक केन्द्रीय सदस्य केसीले लगाएको आरोपबारे माओवादी केन्द्रका महासचिव गुरुङसँग कुराकानी गर्न खोज्दा उहाँले यसलाई पार्टीको आन्तरिक विषय भएको भन्दै पन्छिनुभएको छ । सत्तारूढ दलको महासचिवमाथि लागेको आरोप र विपदमा मित्रराष्ट्रले गरेको सहयोगमा भएको हिनामिना पार्टीको आन्तरिक विषय मात्रै कसरी हुनसक्छ ? भन्ने प्रश्नमा महासचिव गुरुङले भन्नुभयो, ‘यो पार्टीको आन्तरिक विषय हो । यो मिडियाको चासोको विषय होइन । पार्टीको आन्तरिक विषय भनिसकेपछि मिडियाले धेरै चासो किन लिने ? पार्टीको आन्तरिक जीवनमा हुने घटनाको पार्टीभित्र अनुसन्धान हुन्छ ।’

जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितलाई वितरणका लागि राहत सामग्री लिएर पुगेको चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङमाथि गत २० मंसिरमा जाजरकोटको भेरी नगरपालिकाको रिम्नामा हातपात भएको थियो । घटनामा संलग्नताको आरोप लागेका माओवादी केन्द्रका नेता केसीले चिनियाँ महिलाले आफ्नो विषयमा अनर्गल भाषणबाजी गरेपछि आफ्नो निर्माण कम्पनीमा कार्यरत भान्से अमर खत्रीले हातपात गरेको स्वीकार गर्नुभएको छ । भूकम्प गएको तीन दिनपछि माओवादी केन्द्रका महासचिव गुरुङ चिनियाँ संस्थाकी निर्देशक सोउ नेतृत्वको टोलीसँगै राहत सामग्री लिएर जाजरकोट र रुकुम पश्चिम पुग्नुभएको थियो ।

ललितपुरको बखुण्डोलमा कार्यालय रहेको ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ले राहत सामग्रीका लागि प्रत्यक्ष सहयोग गरेको थियो । केसीले महासचिव गुरुङका नातेदार भनेर दाबी गरेका मरासिनीको ‘ग्लोबल कोअपरेसन फर डेभलपमेन्ट’ नामक संस्थाले उक्त राहत सामग्री वितरणको जिम्मा लिएको थियो । उक्त राहत सामग्री जाजरकोटको भेरी नगरपालिका-१ रिम्नास्थित केसीकै घरमा थन्क्याइएको थियो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तोष रोकाका अनुसार राहत सामग्री वितरण गर्न पुग्नुभएकी चिनियाँ संस्थाकी मुख्य निर्देशक सोउ स्टोर गरिएको स्थानमा सामग्रीको अनुगमनमा गएका बेलामा हातपात भएको थियो । हातपातको घटनामा चिनियाँ टोलीले अमर खत्री, मुकेश रावल र गोरखबहादुर केसीविरुद्ध उजुरी दिएको थियो । उनीहरूमध्ये अमर खत्रीलाई जिल्ला प्रशासन कार्यालयले पाँच हजार धरौटीमा छाड्न आदेश दियो भने रावल र माओवादी नेता केसी अहिलेसम्म फरार रहेको प्रहरीले जनाएको छ । साभार हिमालय टाइम्स दैनिकबाट

प्रकाशित मिति: ७ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्