अध्यक्ष पञ्चाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि दिपेश पुनको चेतावनी – आत्मघाती बम बन्न नपरोस्


 


काठमाडौं । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारीभएपछि उक्त संगठनका महासचिव दिपेश पुनले विरोध गरेका छन् ।

विभिन्न मुद्दाका नाममा जनयुद्धका योद्धाहरुलाई तर्साउन खोजिएको भन्दै पुनले सामाजिक सञ्जालमार्फत् आत्मघाती बम बन्न नपरोस् भन्दै चेतावनी दिएका हुन् ।

‘ए जिस्काएको ? हाम्रो सुप्रिमोलाई सर्बोच्चमा विभिन्न नाममा मुद्दा हालेर बुढाहरुलाई थकाई सकियो, अब नयाँ पुस्तालाई चेक गर्न खोजेको ?’ उनले लेखेका छन्, ‘अरे हामी मर्न हिँडेर सँगसँगै सहयोद्धाहरुलाई हातैले जमिनमा गाडेर सहयोद्धाको रगतले लत्पतिएको बन्दुक बोकेर आएको यार। धेरै खेलासी नठान है, नाफाको जीन्दगी हो। कसैसँग मतलब छैन। आत्मघाती बम बन्न नपरोस् !’

१५ वर्षअघि कालिकोटमा भएको एउटा हत्याको घटनामा पञ्चा सिंहसहित ६ जना विरूद्ध शुक्रबार जिल्ला अदालत सुर्खेतले पक्राउ पुर्जी जारी गरेको छ।

२०६५ फागुन २६ गते कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या भएको थियो। मल्लको हत्या अभियोगमा ६ जनाविरूद्ध किटानी जाहेरी दर्ता भएको थियो।

किटानी जाहेरी परेका पदमबहादुर रावत, पञ्चा सिंह, बालकृष्ण सिंह, टंकबहादुर सिंह, वीरबहादुर मल्ल र अली कार्कीविरूद्ध पक्राउ पुर्जी जारी भएपछि अखिल क्रान्तिकारीका नेताहरु विरोधमा उत्रिएका छन् ।

प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्