विमानस्थलबाट आधा किलो सुनसहित एकजना पक्राउ


 


काठमाडौँ, माघ ७ । आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ परेका छन् ।

कतारको दोहाबाट त्रिभुवन विमानस्थल उत्रिएका झापा स्थायी ठेगाना भएका खगेन्द्र दर्जीलाई प्रहरीले पक्राउ गरेको हो ।

कतारको दोहाबाट तरल पदार्थ बनाएर तस्करी गरी ल्याएको ४९९ ग्राम सुनसहित विमानस्थल भन्सार कार्यालयले दर्जीलाई नियन्त्रणमा लिएको हो ।

हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट कतारका दोहादेखि काठमाडौँ आएका दर्जीले तरल पदार्थ बनाएर सुन ल्याएका थिए ।

विशेष सूचनाको आधारमा दर्जीलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले बताए ।

बरामद भएको सुन दर्जी आफैले ल्याएको वा उनी भरिया मात्रै हो भन्ने सम्बन्धमा थप अनुसन्धान भइरहेको पाण्डेले बताए ।

प्रकाशित मिति: ७ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्