सुर्खेतमा यातायात व्यवसायीबीच झडप, दुई जना घाइते


 


सुर्खेत, माघ ६ । सुर्खेतको वीरेन्द्रनगर बसपार्क क्षेत्रमा यातायात व्यवसायीहरुबीच झडप भएको छ ।

टिकट काट्ने विषयलाई लिएर दुई यातायात समूहका व्यक्तिहरूबिच झडप भएको हो ।

वीरेन्द्रनगरमा भर्खरै सञ्चालनमा आएको ‘भिजिट कर्णाली यातायात’ प्रालि र संयुक्त यातायात व्यवसायीहरूका बिचमा झडप भएको प्रहरीले जनाएको छ ।

भिजिट कर्णालीको टिकट काट्ने ठाउँ बसपार्क भन्दा केही अगाडि रहेको बुलबुले गेट नजिकै काउन्टरमा टिकट काटिरहेका बेला संयक्त यातायता व्यवसायीहरुले हातपात गरेको भिजिट कर्णाली यातायात प्रालिका अध्यक्ष प्रकाश शाहीले जानकारी दिए ।

हातपातबाट भिजिट कर्णाली यातायातमा काम गर्ने दुई जना घाइते भएको र उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

दोस्रो पक्षले भने सिटी बसपार्कबाटै टिकट सञ्चालन गर्नुपर्ने बताएका छन् । तर भिजिट कर्णाली यातायातलाई भने वीरेन्द्रनगर नगरपालिकाले चलानी नम्बर २८९० का अनुसार अर्को निर्णय नहुँदासम्मलाई बसपार्क बाहिरैबाट सेवा सञ्चालन गर्ने अनुमति दिएको थियो ।

घटनाको विषयलाई लिएर यतिबेला बसपार्क वरपरको क्षेत्र तनावग्रस्त छ भने प्रहरीसमेत परिचालन गरिएको छ ।

प्रकाशित मिति: ६ माघ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्