मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ


 


काठमाडौं, माघ ५ । धादिङ मेत्रावती गाउँपालिका–२ स्थायी ठेगाना भएका ५७ वर्षीय वीरबहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी तामाङ फरार भएको ३२ वर्षपछि पक्राउ परेका हुन् ।

उनीमाथि पीडितलाई ब्रुनाई पठाईदिने भन्दै झुक्याई २०४७ चैत ३ गते काठमाडौंबाट काकरभिट्टा हुँदै पश्चिम बंगालको बागडोग्रा भन्ने स्थानमा पुर्‍याई भारतीय नागरीकलाई बेचबिखन गरेको आरोप छ ।

फरार रहेका उनलाई मानव बेचबिखन अनुसन्धान व्यरो बबरमहलबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका–१४ तिखेदेवलबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले पीडितको श्रीमान ब्रुनाईमा रोजगारीमा रहेको बेलामा श्रीमानले ब्रुनाई ल्याईदिनु भनि मलाई चिठ्ठी पठाएका छन भनि झुक्याई काठमाडौंबाट काकरभिट्टा हुँदै भारतको पश्चिम बंगालस्थित बागडोग्रा भन्ने शहरमा पुर्‍याई अनजान व्यक्तिको घरमा अपरीचित भारतीय नागरिकहरुको जिम्मामा छोडेका थिए ।

उनले भारतीय नागरिकहरुबाट भारतीय रुपैयाँ १० हजार लिई पीडितलाई बेचबिखन गरेको र पीडितलाई रिक्सामा राखी लैजाने क्रममा पीडित रिक्साबाट हाम फाली भारतीय प्रहरीको सम्पर्कमा गएपश्चात उनीहरुले काकरभिट्टा ल्याई छोडिदिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी गर्नुका साथै प्रहरीले उनीमाथि जिल्ला अदालत काठमाडौंबाट तीन दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्