जनमुक्ति सेना भ्रष्टाचारमा मुछिएसँगै चीनको सैन्य क्षमतामाथि नै प्रश्न


 


काठमाडौं । चिनियाँ जनमुक्ति सेना एकपछि अर्को भ्रष्टाचार प्रकरणमा मुछिएसँगै चीनको सैन्य क्षमतामाथि नै प्रश्न उब्जिन थालेको छ ।

राष्ट्रपति सी जिन्पिङले चीनमा भ्रष्टाचारविरुद्ध व्यापक अभियान सञ्चालन गरेपनि हालै चिनियाँ जनमुक्ति सेना खासगरी रकेट फौजभित्रको भ्रष्टाचार प्रकरण सार्वजनिक भएको हो । यससँगै चिनियाँ राजनीतिक नेतृत्वले जनमुक्ति सेनाका ९ जना वरिष्ठ सैन्य अधिकारीहरुलाई बर्खास्त गरिसकेको छ ।

राष्ट्रपति सीले चिनियाँ समाजबाट भ्रष्टाचार उन्मुलन गरेरै छाड्ने दृढता व्यक्त गर्दै आएका थिए । तैपनि जनमुक्ति सेनाका प्रायः सबै विभाग भ्रष्टाचारको जालोमा फसेको देखिन्छ । हालै बसेको चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक सम्मेलनले मुलुकको सैन्य एवम् हवाई उद्योगमा कार्यरत तीन जना वरिष्ठ अधिकारीलाई पदबाट मुक्त गर्ने निर्णय गरेको छ । चीनले आफ्नो आणविक क्षमता विस्तारको तयारी गरिरहेका बेला रकेट फौजमा देखिएको भ्रष्टाचारले चिनियाँ जनमुक्ति सेनामाथि नै प्रश्न उठाएको छ ।

चीनले केही समयअघि निकै लामो समयसम्म बेपत्ता रहेका रक्षामन्त्री ली शाङ्फूलाई बर्खास्त गरिदिएको थियो । साथै चिनियाँ राजनीतिक नेतृत्वले जनमुक्ति सेनाका ९ जना वरिष्ठ अधिकारीलाई पनि पदमुक्त ग¥यो । पदमुक्त गरिएका सैन्य अधिकारीहरु शाङ्फूनिकट मानिन्छन् ।

यसबाट चिनियाँ जनमुक्ति सेनामा व्याप्त भ्रष्टाचार छताछुल्ल भयो । आफ्ना आसेपासेलाई उच्च पदमा पु¥याएर राजनीतिक शक्ति आफ्नो हातमा लिने चिनियाँ राष्ट्रपति सीको यही नेतृत्व शैलीका कारण पनि पार्टीप्रतिको वफादारिताका नाममा भ्रष्टाचार मौलाइरहेको विश्लेषण गरिन्छ ।

जनमुक्ति सेनाको रकेट फौजलाई आणविक हतियारसँग सम्बन्धित क्षेत्रका लागि महत्वपूर्ण सैन्य एकाइ मानिन्छ । यस्ता भ्रष्टाचारका मामिलामा मुलुकका शीर्ष पदमा रहेका अधिकारीहरुको नाम जोडिनुले जनमुक्ति सेनाको निर्णायक तहमा उदण्डताको संस्कार रहेको भन्ने समेत टिकाटिप्पणी हुन थालेका छन् ।

ली युचाओ, जाङ जेनझोङ र लिउ गुआङबिनजस्ता रकेट फौजमा आबद्ध शीर्ष कमाण्डहरुको बर्खास्तीले अझ जवाफभन्दा धेरै प्रश्नहरु उब्जाएको छ । हालै सार्वजनिक समाचारहरुमा जनमुक्ति सेनाअन्तर्गत रकेट फौजले तयारी अवस्थामा रखेका क्षेप्यास्त्रको ट्यांकीमा इन्धनको सट्टामा पानी राखिएको उल्लेख छ । यसले चिनियाँ जनमुक्ति सेनाको रक्षा क्षमतामा गम्भीर प्रश्न उब्जाएको छ ।

जनमुक्ति सेनाभित्र राष्ट्रपति सीले सञ्चालन गरेको भ्रष्टाचारविरोधी अभियानबाट सेना पार्टीप्रति पूर्ण वफादार रहन सहयोग मिल्ने आँकलन गरिएको थियो । यद्यपि हालै गरिएका बर्खास्तीबाट यस अभियानले सेनामा उल्लेखनीय सुधार गर्न असफल रहेको देखिन्छ ।

प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्