केपी ओली कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण फागुनमा


 


काठमाडौँ, माघ ३ । ‘केपी ओली कप फुटबल प्रतियोगिता’ को दोस्रो संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ ।

प्रतियोगिताको आयोजक राष्ट्रिय युवा संघ नेपालले बुधबार पत्रकारसम्मेलन आयोजना गर्दै प्रतियोगिता फागुन ११ देखि १९ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।

प्रतियोगितामा नेपालको ‘ए’ डिभिजन क्लबका अतिरिक्त विदेश टोलीको समेत सहभागिता रहने छ ।

प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टोलीले ११ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ पुरस्कार हात पार्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पनि एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई पनि जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने । हरेक खेलको म्यान अफ दी म्याचले पनि १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यसका अतिरिक्त हरेक खेलको विजेता टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक कमिटी र विभिन्न उपसमिति गठन गरिएको पनि राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतियोगिताको पहिलो संस्करण २०७९ सालमा आयोजना भएको थियो । उक्त प्रतियोगितामा मच्छिन्द्र क्लब पहिलो र सातदोबाटो यूथ क्लब दोस्रो भएका थिए ।

प्रतियोगिताको फाइनलवाहेकका खेलहरु च्यालस मैदानमा खेलाइने छ । प्रतियोगिताको फाइनल खेल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्