नक्कली मदिरा उत्पादन गर्ने ९ जना पक्राउ


 


काठमाडौं, माघ ३ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली मदिरा उत्पादन गरी बेचबिखन गर्ने ९ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुलाई सार्वजनिक गरेको होह ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठोरले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीस्थित भरत थापाको दुईतले घर भाडामा लिइबसेका जनाले स्वदेशी तथा विदेशी ‘ब्रान्ड’का नक्कली मदिरा उत्पादन गरी कालोबजारी गर्ने गरेको जानकारी दिए ।

सार्वजनिक गरिएकामा रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भई हाल काठमाडौं मूलपानी बस्ने २८ वर्षीय मनोज खत्री, रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भई हाल कोटेश्वर बस्ने ३६ वर्षीय विनोदकुमार कार्की, सिन्धुपाल्चोक कमलामाई नगरपालिका–९ घर भई हाल मूलपानी बस्दै आएका २८ वर्षीय गौरब तामाङ, सिन्धुपाल्चोक चौतारा नगरपालिका–३ बस्ने २७ वर्षीय मोहन खड्का, कागेश्वरी मनोहरा नगरपालिका–६ का ३६ वर्षीय सुमन नगरकोटी, सिन्धुली कमलामाई नगरपालिका–७ घर भई कोटेश्वर बस्ने ४० वर्षीय लेखविक्रम थापा रहेका छन् ।

त्यस्तै, रामेछाप मजुवा गाउँपालिका–३ गाघर भई मूलपानी बस्ने २३ वर्षीय महेश खत्री, रामेछाप खाँडादेवी नगरपालिका–२ घर भई हाल काठमाडौं मुलपानी बस्ने २० वर्षीय मनिष खत्री र सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ घर भई हाल काठमाडौं मूलपानी बस्ने १८ वर्षीय रोशन कार्की रहेका छन् ।

पक्राउ परेका विनोद कार्कीको थलीस्थित कोठा खानतलासी गर्दा स्वदेशी तथा विदेशी ब्रान्डका गुणस्तरहीन मदिरा बनाई कालोबजारी गर्ने गरेको तथा उनीहरुले आन्तरिक राजश्व कार्यालय अन्तःशुल्कका ‘स्टिकर’हरु समेत नक्कली बनाएर प्रयोग गर्ने गरेको भेटिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख राठोरले बताए ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइने उनले जानकारी दिए ।

प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्