नारायणगढ–मुग्लिङ सडक : सुध्रियो गुणस्तर, रोकिएन दुर्घटना


 


नारायणगढ । गुणस्तर सुधार भए पनि नारायणगढ–मुग्लिङ सडक खण्डमा दुर्घटना नियन्त्रण हुन सकेको छैन । तीन ठुला राजमार्गसँग जोडिएको चितवनमा साढे चार वर्षको अवधिमा एक हजार ७०४ वटा सडक दुर्घटना भएका छन् ।

दुर्घटनाका कारण ५०४ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार यस अवधिमा दुर्घटनाकै कारण तीन हजार ७६ जना घाइते भएका छन् ।

पृथ्वी राजमार्ग, नारायणगढ–मुग्लिङ सडक र पूर्व–पश्चिम राजमार्गसँग जोडिएको चितवनमा हुलाकी सडक र भित्री सडकमा पनि उत्तिकै दुर्घटना हुँदै आएको छ । तीन वटा ठुुला राजमार्गसँग जोडिएकाले चितवनमा ट्राफिक चाप बढी छ ।

दुर्घटनाका कारणबारे खासै अध्ययन भएको पाइँदैन । मङ्गलबार झिसमिसेमा यस सडक खण्डको तीन नम्बर पुल नजिकको सडकबाट त्रिशूली नदीमा भारतीय गाडी खसेको छ । चालक बेपत्ता छन् । ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी निरीक्षक सुरेश सुवेदीले चालकले भेउ नपाउँदा दुर्घटना भएको हुन सक्ने अनुमान गरे ।

“भौगोलिक ज्ञान नभएका कारण पनि यस सडक खण्डमा दुर्घटना हुने गरेको छ,” उनले भने । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्