किशोरीमाथि सामूहिक बलात्कार, नगरप्रहरीसहित पाँच जना पक्राउ


 


काठमाडौं, माघ २ । मुगुमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्लाको छायानाथ रारा नगरपालिका घर भएकी एक १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

किशोरीलाई ९ जनाको समूहले सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएपछि प्रहरीले नगर प्रहरीका जवानसहित पाँच जनालाई पक्राउ गरेको छ । किशोरी गर्भवती भएपछि बलात्कारको विषय सार्वजनिक भएको थियो ।

बलात्कार आरोपमा कार्कीबाडाका ३० वर्षीय नगर प्रहरी बसन्तबहादुर कार्की, जिल्ला कृषि विकास कार्यालयका कार्यालय सहयोगी सोरु गाउँपालिका–८ का २२ वर्षीय बसन्त रोकाया र १४ वर्ष मुनिका तीन जना किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुपेन्द्र बुढाथोकीले जानकारी दिए ।

उनले पक्राउ परेकाहरुविरुद्ध बलात्कार कसुरमा पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको बताए ।

बलात्कार आरोपमा कृषि विकास कार्यालयका सवारी चालक पदमबहादुर कठायतसहित चार जना भने अझै फरार रहेको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्