ताइवान मामिलामा चीन र अमेरिकाबीचको तनाव बढ्दो


 


काठमाडौं । ताइवान मामिलालाई लिएर अमेरिका र चीनबीचको तनाव फेरि बल्झिने सङ्केत देखा परेको छ । यही शनिवार निर्वाचित भएका ताइवानका नयाँ राष्ट्रपति विलियम लाइलाई अमेरिकाले बधाई सन्देश पठाएको विषयलाई लिएर चीन अमेरिकाप्रति रुष्ट बनेको छ । ताइवान मामिलामा चीन किन यति संवेदनशील छ र किन यही विषयलाई लिएर अमेरिका र चीनबीच तनाव बल्झिरहन्छ त ?

ताइवानमा शनिवार भएको निर्वाचनमा सत्तारुढ डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी– डीपीपीका नेता तथा वर्तमान उपराष्ट्रपति विलियम लाई राष्ट्रपति पदमा निर्वाचित भए । परिणाम आएलगत्तै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले नवनिर्वाचित राष्ट्रपति लाइलाई उनीसँग मिलेर काम गर्न इच्छुक रहेको भन्दै बधाई सन्देश पठाए ।

बेलायत, फ्रान्स, जर्मनीलगायतका अन्य पश्चिमा देशले पनि बधाई सन्देश पठाएका थिए । तर अमेरिकाले पठाएको बधाई सन्देशले चीनलाई नराम्ररी झस्कायो । चिनियाँ विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै स्वतन्त्र ताइवानको पक्षमा वकालत गर्ने पृथकतावादी शक्तिलाई गलत सन्देश दिने काम बन्द गर्न भन्यो । ताइवानको प्रश्न चीन–अमेरिका सम्बन्धबीचको पहिलो लाल रेखा भएको भन्दै बेइजिङले त्यसलाई उल्लङ्घन नगर्न वासिङ्टनलाई चेतावनी नै दियो ।

चीनले ताइवानलाई आफूबाट छुटि्टएको एक प्रान्तको रूपमा हेर्ने गर्दछ भने उसलाई जसरी पनि आफूमा पुनर्एकीकरण गरेरै छाडने दृढता व्यक्त गर्दै आएको छ । चीनमा सन् १९४५ देखि १९४९ सम्म चलेको दोस्रो गृहयुद्धको अन्त्यमा माओत्से तुङ्ग नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टी विजयी भएपछि तत्कालीन शासक च्याङ्ग काइ सेक मुख्यभूमि चीनबाट भागेर ताइवान आए र आफू नै समग्र चीनको वैधानिक शासक भएको दाबी गर्दै ताइवानमा सत्ता सञ्चालन गर्न थाले ।

उता गृहयुद्धमा विजयी चिनियाँ कम्युनिस्ट पार्टीले मुख्य भूमि चीनमा शासन गर्न थाल्यो र सोही समयदेखि नै ताइवानलाई औपचारिक रूपमा स्वतन्त्र राष्ट्र घोषणा नगर्न र गरे सैन्य बल प्रयोग गर्ने चेतावनी दिँदै आएको छ । १९७५ मा च्याङ्ग काइ शेकको निधन भएयता ताइवानमा थुप्रै परिवर्तन भैसकेको छ । उसको आफ्नै संविधान छ भने लोकतान्त्रिक पद्धतिबाट निर्वाचित सरकारले शासन गर्दै आएको छ । ताइवान एउटा टापु हो जुन मुख्यभूमि चीनबाट करिब १८० किलोमिटरको दुरीमा पर्दछ ।

अमेरिकाले ताइवानबारे रणनीतिक अस्पष्टताको नीति अङ्गीकार गर्दै आएको छ । एकातिर उसले एक चीन नीतिलाई अङ्गीकार गरेको छ जसको अर्थ ताइवान चीनको अभिन्न अंग हो भनेर स्विकार्नु हो तर अर्कोतिर उसले संसदबाट ताइवानसँगको सम्बन्धसम्बन्धी कानुन पारित गरेको छ जसका आधारमा आत्मरक्षाका लागि भन्दै ताइवानलाई ठूलो मात्रामा सैन्य सहायता प्रदान गर्दै आएको छ ।

ताइवानसँग औपचारिक रूपमा कूटनीतिक सम्बन्ध नराखे पनि ताइपेइमा अमेरिकन इन्स्टिच्यूट इन ताइवान–एआइटी स्थापना गरी सोही संस्थामार्फत कूटनीतिक गतिविधि भने गर्दै आएको छ ।

अमेरिकाको यही दोधारे नीतिका कारण बेइजिङ र वासिङ्गटनबीच समय–समयमा ताइवान मामिलालाई लिएर टकराब भइरहन्छ । २०२२ को अगस्टमा तत्कालीन अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइपेइको भ्रमण गरेपछि अमेरिका र चीनबीचको तनाव उत्कर्षमा मात्रै पुगेन चीनले ताइवान वरिपरिको समुद्र क्षेत्रमा व्यापक सैन्य अभ्यास गरेर त्रासको वातावरण सिर्जना गर्‍यो ।

यस्तै गत वर्षको अगस्टमा तत्कालीन उपराष्ट्रपति लाइले न्युयोर्क र सानफ्रान्सिस्कोको छोटो भ्रमण गरेको विषयले पनि दुई देशबीचको तनाव चर्किएको थियो । यस्तै २०२२को सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडनले चीनले आक्रमण गरेको अवस्थामा ताइवानको रक्षार्थ अमेरिका अघि आउने अभिव्यक्ति दिएपछि पनि दुई देशबीच तनाव सिर्जना भएको थियो ।

ताइवानको निर्वाचनमा स्वतन्त्रता पक्षधर विलियम लाइको विजयपछि आगामी दिनमा चीन–ताइवान र चीन–अमेरिका सम्बन्ध थप तनावग्रस्त हुन सक्ने आशंका गरिएको छ । औपचारिक नाम ‘रिपब्लिक अफ चाइना’ भएको ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र मान्दै आए पनि औपचारिक रूपमा भने अझै आफूलाई स्वतन्त्र राष्ट्र घोषणा गरिसकेको छैन ।

प्रकाशित मिति: २ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्