चीन र ताइवानबीच बढ्दो तनाव


 


एजेन्सी । चीन र ताइवानबीच लगातार तनाव बढ्दो अवस्थामा छ । शनिबार र आइतबार चिनियाँ सेनाले आफ्नो सीमामा घुसपैठ गर्ने प्रयास गरेको ताइवानले जनाएको छ ।

ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै जनवरी १४ र १५ को बिहान करिब ६ बजे सिमानामा ६ वटा चिनियाँ लडाकु विमानहरू देखिएको बताएको छ ।

यसैगरी ताइवानको सीमानजिक चिनियाँ नौसेनाका चार युद्धपोतहरू पनि देखिएका छन् ।

चीनको जनमुक्ति सेनाको सैन्य परीक्षण गरिएको ड्रोन ताइवान स्ट्रेट मध्यरेखा पार गरी देशको दक्षिणपश्चिमी वायु क्षेत्रमा पुगेको थियो ।
ताइवानले आफ्नो सेनाले पनि जवाफ दिएको र तुरुन्तै आफ्नो लडाकु विमान र नौसेना डुंगाहरू घटनास्थलमा पठाएको जनाएको छ ।

ताइवानी सञ्चारमाध्यमका अनुसार आइतबार नै ताइवानको सीमामा एउटा संदिग्ध चिनियाँ बेलुन पनि देखिएको थियो । दिउँसो ४ः३० बजे चीनको शंकास्पद बेलुन उत्तरपूर्वी सिमानाबाट ताइवानको सिमाना छेउमा पुगेको थियो।

अहिलेसम्म करिब १ सय १४ चिनियाँ विमान र ६५ नौसैनिक जहाज ताइवान सीमा नजिकै देखिएका छन् ।

चीनले ताइवानविरुद्ध ग्रे जोन रणनीति प्रयोग गरिरहेको रक्षा विज्ञहरू बताउँछन् । यसअन्तर्गत चिनियाँ लडाकु विमानहरू ताइवानको सिमानामा लगातार उडान गरिरहेका छन् ।

धेरै पटक यी लडाकु विमानहरू ताइवानको सीमामा पनि पसेका छन् ।

ताइवानमा भर्खरै राष्ट्रपतिको निर्वाचन भएको थियो । चुनावमा चीनविरोधी मानिने डेमोक्रेटिक पिपुल्स पार्टीका अध्यक्ष विलियम लाइ विजयी भएका छन् ।

लाइ ताइवानको भावी राष्ट्रपति हुनेछन् । चीनले लाइलाई समस्याको जडको रूपमा उल्लेख गर्ने गरेको छ ।

यस्तो अवस्थामा ताइवानको सीमामा चिनियाँ सेनाको घुसपैठलाई पनि यससँग जोडेर हेरिएको छ ।

चुनाव जितेपछि लाइले चीनसँग आपसी सम्मानका आधारमा वार्ता हुने बताएका थिए । चीनले लाइलाई ताइवानको स्वतन्त्रताको समर्थक भएको आरोप लगाउँदै आएको छ ।

चीनले ताइवानलाई आफ्नो हिस्सा मान्छ भने ताइवानले आफूलाई सार्वभौम राष्ट्र ठान्छ । चीनको दबाबका कारण मात्रै १३ देशले ताइवानलाई छुट्टै राष्ट्रका रूपमा मान्यता दिएका छन् ।

प्रकाशित मिति: १ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्