प्रधानमन्त्री मोदीले यूएईमा भारतीय समुदायलाई सम्बोधन गर्ने


 


नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबु धाबीमा भारतीय समुदायलाई सम्बोधन गर्ने भएका छन् ।

आगामी यूएई भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले फेब्रुअरी १३ मा अबु धाबीमा रहेका भारतीय समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

अबु धाबीको शेख जइद रंगशालामा मोदीले भारतीय समुदायलाई सम्बोधन गर्ने कार्यक्रमलाई ‘अहलन मोदी’ को नाम दिइएको छ । कार्यक्रम हेर्न र मोदीको सम्बोधन सुन्न हजारौँ भारतीय आउने र रंगशाला भरिभराउ हुने अपेक्षा गरिएको छ ।

त्यसबाहेक ३५० भन्दा धेरै भारतीय समुदायका अगुवाहरु पनि कार्यक्रममा उपस्थित हुने एएनआईले जनाएको छ । कार्यक्रम सञ्चालन गर्नका लागि स्वयंसेवक समितिहरु पनि गठन गरिएको छ ।

सन् २०१४ मा प्रधानमन्त्री बनेयता मोदीले ६ पटक यूएईको भ्रमण गरिसकेका छन् ।

प्रकाशित मिति: २९ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्