वीरगन्जका मेयर सिंहविरुद्ध जिल्ला प्रशासमा उजुरी


 


पर्सा, पुस २६ । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा सामूहिक उजुरी परेको छ ।

‘नक्कली’ बाबु बनेर झुटो विवरण पेस गर्दै एक किशोरीलाई वंशजको नागरिकता दिलाएको अराोपमा सिंहविरुद्ध प्रशासन कार्यालयमा १६ जनाले उजुरी दिएका हुन् ।

सिंहले जन्म दर्ता लगायत सम्पूर्ण कागजपत्रहरू झुटो बनाएर २०७५ साल साउन १३ गते रुविना श्रेष्ठलाई वंशजको नागरिकता दिलाएको आरोप छ ।

‘नागरिकता ऐन विरुद्ध आपराधिक कार्य गरेकोले उजुरी उपर अनुसन्धान गरी रुविना श्रेष्ठले लिनु भएको नागरिकता, राहदानी खारेज गरी दुवै विपक्षीलाई हदैसम्मको दण्ड सजाय हुने गरी कारबाही गरी पाऊँ’ प्रशासनमा बुझाइएको उजुरीमा उल्लेख छ ।

किशोरीको नागरिकतामा बाबुको नाम राजेशमान सिंह र नागरिकता नम्बर १६०३१८८१७ खुलाइएको छ ।

रुविना श्रेष्ठले विवादित नागरिकताका आधारमा स्थानीय प्रशासनबाट २०७९ साउन २४ गते राहदानी समेत निकालेको उजुरीमा उल्लेख छ ।

सिंहले नक्कली बावु बनेर नागरिकता प्राप्त गरेकी किशोरी हाल अध्ययनको सिलसिलामा अष्ट्रेलिया रहेको बताइएको छ ।

सिंह विरुद्ध सामूहिक उजुरी दिनेमा जसपाका स्थानीय नेता मनोज राउत कुर्मी, जनमत पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज मुकेश द्विवेदी, जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, नेपाली कांग्रेसका नगर सदस्य सुलतान अन्सारी, नेकपा एमालेका मधेस प्रदेश सदस्य ल्याकत अली, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता राजेश पटेल लगायत छन् । उजुरी दिन जाने क्रममा उनीहरूले मेयरविरुद्ध नाराबाजी समेत गरेका थिए ।

यसअघि साबुदिन महम्मद सहाबुदिनले पनि मेयर सिंहविरुद्ध जाहेरी दिएका थिए ।

प्रकाशित मिति: २६ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्