सहाराविहीन बालबालिकालाई सहयोग गर्न एक प्रधानाध्यापकाे अपिल


 


धनगढी, पुस २४ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ बरबट्टास्थित नवदुर्गा आधारभूत विद्यालयमा अध्ययनरत सहाराविहीन बालबालिकालाई सहयोग गर्न प्रधानाध्यापक वीरबहादुर बिष्टले अपिल गरेका छन् ।

अहिलेको चिसो मौसममा पनि न्यानो कपडा अभावमा बालबालिका एकसरो लुगामा विद्यालयमा आइरहेको भन्दै प्रधानाध्यापक बिष्टले बालबालिकाको तस्बीर सामाजिक सञ्जाल फेसबुकमा राख्दै सबैमा सहयोगको अपिल गरेका हुन् ।

विगतमा पनि विद्यालयका शिक्षकहरुले रकम उठाएर केही सहयोग गर्दै आएको र अहिले पुनः आवश्यकता परेको बताएका छन् ।

देशमा व्यवस्था परिवर्न भएपनि अवस्था परिवर्तन नभएको भन्दै प्रधानाध्यापक बिष्टले यस्ता बालबालिकाको रेखदेख गर्ने जिम्मेवारीबाट सरकार विमुख भएको आरोपसमेत लगाए । उनले अहिले साहाराविहीन बालबालिकाको तस्बीर सामाजिक सञ्चालमा हालेर सहयोग माग्न बाध्य भएको समेत भनेका छन् ।

बालकालिकाको सहयोगका लागि सरकारका निकायलगायत सबैलाई प्रधानाध्यापक बिष्टले आग्रह गरेका छन् ।

बढी जस्तो गरिब तथा विपन्न बालबालिका अध्ययनरत यो विद्यालयमा अहिले अंग्रेजी माध्यमबाट पनि पढाई भइरहेको छ । जसले गर्दा यहाँ विद्यार्थीको आकर्षण पनि बढिरहेको छ ।

प्रधानाध्यापककाे अपिल :-

व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन – आज म यी बालबालिकाहरू तस्बिर पोष्ट गर्न बाध्य भएको छु।कसै ले पनि अन्यथा न सोचिदिन हुन पनि सादर अनुरोध गर्दछु । यस्तो कहालीलाग्दो अवण्स्था कसै दुस्मनलाई पनि न होस् भगवानसंग प्रार्थना गर्दछु ।
यो अवस्था हो श्री नवदुर्गा आधारभूत विद्यालय बरबट्टा कैलालीमा अध्ययनरत साहाराविहीन नानीबाबुहरूको । अवस्था देख्दा जो कोहीको पनि मुटु छिया छिया हुन्छ होला । पुषको महिना वातावरण शितलहरले आक्रान्त भएको छ । पानी परे जस्तै शितलहर चलिरहेको छ । यी बालबालिकाहरूको शरीर छोप्ने एकसरो च्यातियको लुगा लगाएर विद्यालय आउन बाध्य छन् । २ वर्ष पहिले शिक्षक स्टापहरूले चन्दा संकलन गरेर एक जोर लुगा किनिदिएका थियौ । ती लुगाहरू फाटेपछि अहिले यी बच्चाहरू सधै यहि लुगाको साहारामा विद्यालय आउने गर्छन् । अवस्था यस्तै छ तस्बिरमा सबैले देख्न सक्नु हुन्छ।

अब भन्नुहोस् सरकार कहाँ छ ?
हाम्रो देशको राज्य संरचना अनुसार ३ तहको सरकार छ । सबै ठाउँमा राज्यका प्रतिनिधिहरूको उपस्थिति छ । तर यी बालबालिकाको दुरदशा कुनै सरकारले देखेन । साहाराबिहीन भएपछि यस्ता बालबालिकाहरूको जिम्मा कसको हो ? के यो राज्य टाठाबाठाको मात्र हो ? धनीमानीको मात्र हो ? पहुँच भएका मानिसको मात्र हो ? यिनको बाच्न पाउने अधिकार छैन ? यहाँका जनप्रतिनिधिहरूलाई थाहा न भएको हो ? स्थानीय सरकारलाई थाहा न भएको हो ? प्रदेश सरकारलाई थाहा न भएको हो ? संघीय सरकारलाई थाहा न भएको हो ? के यहाँ राज्यका प्रतिनिधहरू छैनन् ? गैरसरकारी संघसस्थाहरू कहाँ छन् ? के यी बालबालिकाहरूका बारेमा कसैले सूचना न दिएको हो ? के यस्ता समुदायका मानिस भोट बैंकको रूपमा मात्र प्रयोग गरिएका हुन् ? हैन भने यस्ता एकछाक रूखो गाँस खाना, एकसरो लुगा नपाउने बालबालिकाहरूका बारेमा राज्यका सम्बन्धित निकायको ध्यान जान जरूरी छ । यस्ता बालबालिकाहरूको उचित ब्यवस्थापनका लागि सबै सम्बद्व निकायहरूलाई सादर अनुरोध गर्दछु । जे देखे त्यही लेखेँ । गल्ती भए माफ गर्नुहोला । कोही यस्ता बच्चाहरूको उचित ब्यवस्थापनका लागि सहयोग गर्न चाहानु हुन्छ भने विद्यालयमा सम्पर्क गरिदिन हुन समेत अनुरोध गरिन्छ ।

प्रकाशित मिति: २४ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्