श्रमिकलाई युरोप पठाउने बाटो खुल्यो


 


काठमाडौँ । सरकारले संस्थागत अर्थात् वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत नेपाली श्रमिकलाई युरोप पठाउनका लागि कानुनी बाटो खुला गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने कार्यविधि–२०८०’ ल्याएसँगै संस्थागत मागपत्र प्रमाणीकरण प्रक्रियाको बाटो खुलेको हो ।

व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर युरोप जाने प्रवृत्ति बढिरहेका बेला श्रम मन्त्रालयले कार्यविधि बनाएर कार्यान्वयनमा ल्याएको छ । कार्यविधिमा मागपत्र जाँचबुझ गरी प्रमाणीकरण गर्नका लागि श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय मागपत्र प्रमाणीकरण समिति रहने उल्लेख छ ।

समितिमा संयोजकसहित परराष्ट्र मन्त्रालयका उपसचिव, वैदेशिक रोजगार विभागका उपसचिव, कानुन तथा फैसला कार्यान्वयन शाखाका उपसचिव सदस्य रहने र रोजगार समन्वय तथा सूचना शाखाका उपसचिव सदस्यसचिवको रूपमा रहने व्यवस्था गरिएको छ ।

समितिमा रोजगारदाताले श्रमिकलाई उपलब्ध गराउने पारिश्रमिक एवं सेवा सुविधा र विगत तीन महिनाको पारिश्रमिक वितरणको अवस्था, श्रमिकको कार्यस्थल, आवास, स्वास्थ्य र सुरक्षासम्बन्धी अवस्था, रोजगारदाता कालोसूचीमा परे वा नपरेको विवरण, रोजगारदाताको वैधानिकता, रोजगारदाताले श्रम गन्तव्य मुलुकको सरकारबाट प्राप्त नेपाली कामदार र माग गर्न दिएको स्वीकृतिसम्बन्धी कागजात पेस गर्नुपर्ने छ । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति: २४ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्