विवादित दक्षिण चीन सागरमा चीनको नौसैनिक अभ्यास


 


बेइजिङ । चीनले विवादित दक्षिण चीन सागरमा नौसैनिक गस्तीको घोषणा गरेपछि सो क्षेत्रमा तनाव बढेको छ । चिनियाँ जनमुक्ति सेनाको दक्षिणी थिएटर कमाण्डले दक्षिण चीन सागरमा नौसैनिक गस्तीको घोषणा गरेको हो ।

जनमुक्ति सेनाले गस्तीबारे थप विवरण भने उपलब्ध नगराएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । जनमुक्ति सेना गस्तीलाई ‘नियमित’ सैनिक गतिविधिको संज्ञा दिएको छ ।

पछिल्लो समय दक्षिण चीन सागरमा फिलिपिन्स र चिनियाँ नौसेनाबीच तनाव उत्कर्षमा रहेका बेला चिनियाँ जनमुक्ति सेनाले नौसैनिक गस्तीको घोषणा गरेको हो ।

चीनले अन्तर्राष्ट्रिय अदालतको फैसलाको बेवास्ता गर्दै दक्षिण चीन सागरको सम्पूर्ण क्षेत्रमा आफ्नो दाबी गर्दै आएको छ । यद्यपि सो क्षेत्रमा चीनबाहेक फिलिपिन्स, भियतनाम, मलेशिया, इण्डोनेशिया, ब्रुनाइजस्ता मुलुकले पनि आफ्नो सार्वभौमिकता दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति: २३ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्