ऋण दिने चिनियाँ एपबाट विश्वभरका प्रयोगकर्ता शोषित हुँदै


 


एजेन्सी । पछिल्लो समय कठोर सर्तमा सहजै ऋण दिने चिनियाँ एपबारे थप विवरणहरु सार्वजनिक भएसँगै यसको असर र प्रभावबारे चिन्ता प्रकट हुन थालेका छन् । सुरुमा चिनियाँ एपले सहजै ऋण प्रदान गर्ने र पछि सोही एपबाट प्रयोगकर्ताको शोषण हुने गरेको समाचारहरु सार्वजनिक भइरहेका छन् । यस्ता एपहरुले प्रयोगकर्ताहरुलाई सुरुमा छोटो समयका लागि उच्च ब्याजदरमा सानो परिमाणमा ऋण दिने गरेका छन् ।

विश्वव्यापी जोखिमको रुपमा चित्रण गरिएका यस्ता एपहरुले पछि गएर प्रयोगकर्ताहरुलाई वित्तीय र मनोवैज्ञानिक तनाव दिने गरेको हालै सार्वजनिक एक प्रतिवेदनमा उल्लेख गरिएको छ । आईजे रिपोर्टिकाले हालै सार्वजनिक गरेको प्रतिवेदनमा यस्ता एपहरु भारत, फिलिपिन्स, पाकिस्तान र विभिन्न अफ्रिकी मुलुकहरुमा अनियन्त्रित गतिमा फैलिरहेको पाइएको छ ।

फिलिपिन्सकै कुरा गर्दा त्यहाँ यस्ता ऋण दिने एप प्रयोग गर्ने ८७ दशमलब ९७ प्रतिशत प्रयोगकर्ताले आफूहरुमाथि दुव्र्यवहार भएको प्रतिक्रिया दिएका छन् भने शून्य दशमलब ८९ प्रतिशतले यस्तै एपका कारण कसैले आत्महत्या गरेकोबारे आफू जानकार रहेको बताएका छन् । त्यसैगरी भारतमा ८६ दशमलब ६७ प्रतिशत ऋण दिने एप प्रयोगकर्ताले दुव्र्यवहारको शिकार भएको जनाएका छन् ।

भारतीय अधिकारीले गरेको अनुसन्धानमा यस्ता विभिन्न ७० एपको माध्यमबाट १ करोड ४३ लाख भारतीय रुपैयाँ चलखेल भएको निष्कर्ष निकालेका छन् । यस्ता तथ्यांकले सहजै ऋण दिने प्रलोभनमा पारेर दुव्र्यवहार गर्ने चिनियाँ एपविरुद्ध तत्कालै विश्वव्यापी सहकार्य अवाश्यक रहेको देखिन्छ ।

यस्ता चिनियाँ एपले प्रयोगकतालाई आर्थिक हिसाबमा मात्रै नभइ व्यक्तिगत गोपनियताका हिसाबमा पनि शोषण गर्ने गरेका छन् । ऋण प्रक्रियाका नाममा सञ्चालन हुने यस्ता एपले प्रयोगकर्ताको संवेदनशील डेटामा समेत पहुँच पुर्‍याउने गरेका छन् ।

यस्ता एपले प्रयोगकर्ताको कन्ट्याक, फोटो ग्यालरी र लोकेसन डेटाजस्ता संवेदनशील मानिने डेटामा पहुँच पुर्‍याउने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै संवेदनशील डेटामा पहुँचका कारण यस्ता एपहरुले प्रयोगकर्तालाई ब्याकमेलसमेत गर्ने गरेको पाइएको छ । त्यसमा पनि बढिजसो महिला प्रयोगकर्ताहरु यस किसिमको ब्लोकमेलिङको शिकार हुँदै आएका छन् ।

यस्ता एपहरुका सञ्चालकहरुले महिला प्रयोगकर्ताको तस्बीर तोडमोड गरेर आपत्तिजनक बनाइदिने र पछि आफन्त अनि साथीभाइमाझ त्यस्ता तस्बिर सार्वजनिक गरिदिने धम्की दिने गरेका छन् । त्यसबाहेक अनुसन्धानका क्रममा यस्ता एपहरुले व्यक्तिको गोप्य डेटाहरु अन्य अनलाइन माध्यम र डार्क वेबमा समेत बेचिदिने गरेको पनि पाइएको छ ।

यस्ता गतिविधिले गर्दा सहजै ऋण दिने प्रलोभनमा सञ्चालित चिनियाँ एपहरुमाथि तत्काल नियमनको आवश्यकता देखिन्छ । त्यसबाहेक यस्ता एपहरु आर्थिक एवम् गोपनियताको पारदर्शीता, प्रयोगकर्तालाई दिइने सेवा र सुरक्षाको दृष्टिकोणबाट पनि चिन्ताजनक मानिएका छन् ।

यस्ता ऋण दिने चिनियाँ एपका एजेन्टहरुले प्रयोगकर्ताहरुबाट रकम अशुल्न विभिन्न निर्दयी रणनीति पनि अपनाउने गरेका छन् । ती एजेन्टहरुले प्रयोगकर्तालाई तारन्तार फोन गरेर गाली गर्ने, अश्लील भाषाको प्रयोग गरी थर्काउने र विभिन्न माध्यमबाट सम्पर्क गरी ब्लाकमेल समेत गर्दै आएका छन् । यसबाट पीडितको मनोविज्ञानमा असर पर्न गइ मानसिक रुपमा समेत प्रताडित हुने गरेको पाइएको छ ।

विभिन्न उजुरीपछि गुगल प्लेस्टोर र एप्पल एपस्टोरजस्ता एप्लिकेसन उपलब्ध गराउने प्लेटफर्महरुले यस्ता चिनियाँ एप हटाउन कदम त चालेका छन् तर अनियमित प्लेटफर्महरुमा यस्ता एप अझै उपलब्ध छन् । त्यसबाहेक फेसबुक, टिकटक, ह्वाट्सएपजस्ता माध्यमबाट पनि सहजै यस्ता एप डाउनलोड गर्न सकिन्छ ।

प्रतिवेदनमा चिनियाँ एपका कारण फिलिपिन्सका प्रयोगकर्ताहरु सबैभन्दा धेरै पीडित हुने गरेको पाइएको छ । फिलिपिन्समा यस्ता ऋण दिने एपहरुले प्रयोगकर्तालाई १२० दिनको ऋणको विकल्प दिने गरेका छन् । यस्ता ऋण पनि अपारदर्शी छन् । उदाहरणका लागि पेरा मुले हालै २५ हजार फिलिपिनी पेसो ऋण दिने भनी विज्ञापन गरेकोमा केबल १२ हजार पेसो मात्रै दिने गरेको पाइएको थियो । यस्ता ठगी र अपारदर्शीताका कारण उपभोक्ताको सुरक्षामा तत्काल कदम चाल्नुपर्ने आवश्यकता महसुस गरिएको छ ।

यता भारतको अवस्था पनि उस्तै छ । त्यहाँ साइबर अपराधीहरुले २२ वटा संदिग्ध भुक्तानीका माध्यम प्रयोग गरी ७० वटा एन्ड्रोइड चिनियाँ एपमार्फत् १ करोड ४३ लाख भारतीय रुपैयाँ चलखेल गरेको पाइएको छ । त्यसबाहेक यस्ता एपका प्रयोगकर्ताहरुले दुव्र्यवहार, प्रहरीको सहयोग र अन्य चुनौतीहरुको सामना गर्नुपरेको खुलेको छ ।

सरकारी प्रतिबन्धका बावजुद भारतमा मोबीपकेट र रुपेकीजस्ता एप लुकिछिपी सञ्चालन हुँदै आएका छन् । यस्ता एपहरुले निम्न मध्यम वर्गका र गम्भीर स्वास्थ्य समस्याको सामना गरिरहेका प्रयोगकर्ताहरुलाई शिकार बनाउने गरेको देखिन्छ । त्यसबाहेक त्यहाँ यस्तै किसिमका चिनियाँ एपको नक्कल गरी भारतमा नै स्थापित एपहरु पनि बढ्न थालेको देखिन्छ ।

पाकिस्तानमा पनि यस्ता एपहरुको बिगबिगी रहेको देखिन्छ । अनुसन्धानमा पाकिस्तानमा ९३ वटा अनलाइन ऋणदाता एपहरु सक्रिय रहेको देखिएको छ । यस्ता एपहरुमा चिनियाँ र पाकिस्तानकै कम्पनीहरु पनि संलग्न रहेको अनुसन्धानबाट खुलेको छ । फ्लेक्सी मनी, हाजिर लोन, क्रोडिस्ट, भी क्याशजस्ता एपहरुले पाकिस्तानी डिजिटल बजारमा प्रयोगकर्ताहरुको शोषण गर्दै आएको पाइएको छ ।

पछिल्लो समय पाकिस्तानमा देखा परेको गम्भीर आर्थिक समस्याको फाइदा उठाएर यस्ता एपहरुले प्रयोगकर्तालाई ठग्ने र शोषण गर्ने क्रम बढ्दै गएको छ । सन् २०२३ मा पाकिस्तानमा ६७ जनाले आत्महत्या गरेका छन् भने यस्ता एप प्रयोग गर्ने ८९ दशमलब ४१ प्रतिशत प्रयोगकर्ताहरुले यस्ता एपबाट आफूहरुलाई दुव्र्यवहार भएको प्रतिक्रिया दिएका छन् । त्यसबाहेक २ दशमलब ९ प्रतिशत प्रयोगकर्ताहरुले आफूले चिनेकामध्ये कसैले आत्महत्यासम्म गरेको खुलासा गरेका थिए ।

पाकिस्तान र चीनबीच कायम कूटनीतिक सम्बन्धका कारण पाकिस्तान सरकारले यस्ता एपविरुद्ध आवश्यक कदम चाल्न आनाकानी गर्ने गरेको पनि बताइन्छ । त्यस्तै, अफ्रिकी मुलुकहरुमा पनि चिनियाँ ऋण एपहरुको जालो फैलिएको छ । नाइजेरिया, केन्या, घानाजस्ता मुलुकमा काबबिन, ओकाश, पामक्रेडिटजस्ता चिनियाँ ऋण एपका माध्यमबाट प्रयोगकर्तालाई शोषण गर्ने क्रम बढ्दै गएको आईजे रिपोर्टिकाले सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।

समग्रमा भन्दा यस प्रतिवेदनले चिनियाँ ऋण एपले प्रयोगकर्ताहरुको शोषण गर्ने र उनीहरुलाई मनोवैज्ञानिक एवम् मानसिक यातना दिने गरेको स्पष्ट हुन्छ । यस विषयको सम्बोधन गर्न विश्वका सरकारी नियकाहरु, नियामक संस्था तथा कानुन कार्यान्वयन एकाइहरुबीच सहकार्य हुनुपर्ने आवश्यकता देखिन्छ । त्यसबाहेक यस्ता एपविरुद्ध आम प्रयोकर्तामाझ जनचेताना र जोखिम तथा चुनौतीबारे सार्वजनिक बहस हुनुपर्ने आवश्यकता पनि देखिएको छ ।

प्रकाशित मिति: २३ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्