नेपाल क्रिकेट संघकाे साधारण सभाकाे एनसिएसएसद्वारा चर्काे अालाेचना
काठमाडौं ६ पौष
आइसिसी द्वारा निलम्बित नेपाल क्रिकेट संघको मंगलबार सम्पन्न साधारणसभाको नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस ) ले चर्को आलोचना गरेको छ । समाजका सचिब बिमल पौडेलले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै समर्थक समाजको औपचारिक धारणा बाहिर ल्याएका हुन ।
आन्तरिक विवाद र राजनीतिका कारण क्रिकेटको अन्तराष्ट्रिय निकाय (अाइसिसी ) बाट निलम्बनमा परेको र राष्ट्रिय खेलकुद परिषदबाट अबैधानिक घाेषित नेपाल क्रिकेट संघ (क्यान) ले हिजो राजधानीमा गरेको साधरण सभा प्रति नेपाली क्रिकेट समर्थक समाजको गम्भिर ध्यानाकर्षण भएको उक्त बिज्ञप्तिमा भनिएको छ ।
सम्मानित अदालतमा आँफैले मुद्दा दायर गरेर निर्णय नआईसकेको स्थितिमा नेपाली क्रिकेटलाई निकास दिन अाइसिसी, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको प्रयास एवम् कदममा चुनौती दिने उदेश्यले अबैधानिक रुपमा आँफु निकटका केहि जिल्ला प्रतिनिधि र सुभेच्छुकलाई बोलाएर साधारण सभाको नाटक मञ्चन भएको प्रति नेपाली क्रिकेट समर्थक समाजको घोर आपत्ति प्रकट गर्दछ, विज्ञप्तीमा भनिएकाे छ ।
नेपाली क्रिकेटलाई निकास दिन अाइसिसी, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको कदमलाई चुनौती दिंदै भाँजो हाल्ने उदेश्यले अबैधानिक रुपमा एकै बर्षमा दुई पटक साधारण सभा गरेर ताण्डव नृत्य देखाउन खोज्नु नेपाली क्रिकेटको अवमुल्यन गर्न खाेजेकाे समेत बिज्ञप्तिमा उल्लेख छ ।
“नेपाली क्रिकेटका अभिभावक यी तिनै निकाय अाइसिसी, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद कतैबाट पनि मान्यता नपाएपछि रन्थनिँदै पुनः आँफैंलाई आधिकारिक घोषणा गर्दै गरिएको साधारण सभाले नेपाली क्रिकेट र अदालतको अपहेलना गरेको नेपाली क्रिकेट समर्थक समाजको बुझाई छ । साथै आँफैले मान्यता नदिएको निर्वाचित नेपाल क्रिकेट संघ ( क्यान )को साधारण सभामा उपस्थित आफ्ना कर्मचारीलाई कारबाही गर्न नेपाली क्रिकेट समर्थक समाजले राखेप माझ अपिल समेत गरेकाे छ ।
यस अगाडि नै साधारण सभाको खबर सार्बजनिक हुन साथ यो नाटकिय र हास्यास्पद भन्दै आइ सि सिले बनाएको सल्लाहकार समितिलाइ काम गर्न नदिने खेल भएको भन्दै सामाजिक सन्जालमा क्रिकेट समर्थकहरुले साधारणसभाको बिरोध गरिरहेका छन।
प्रकाशित मिति: ६ पुस २०७३, बुधबार