एमालेले लगायो राष्ट्रिय सभा निर्वाचनमा १९ उम्मेदवारको टुंगो (नामसहित)


 


काठमाडौं, पुस २२ । नेकपा (एमाले) ले राष्ट्रिय सभा निर्वाचनका लागि १९ वटै सिटमा उम्मेदवारीको टुंगो लगाएको छ । यद्यपि उम्मेदवारकाे सूची भने सार्वजनिक भने गरिसकेकाे छैन ।

एमाले स्रोतका अनुसार एमालेले सात प्रदेशका १९ सिटमै उम्मेदवारीको टुंगो लगाएर टिकटसमेत दिइसकेको छ । जसअनुसार बागमतीमा महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, दलिततर्फ धादिङका ध्रुवराज विश्वकर्मा र अपाङ्गतातर्फ विवेक देवकोटालाई उम्मेदवार बनाइएको छ । यस्तै अन्य क्लस्टरबाट चितवनका त्रिलोचन निर्मल पौडेलको नाम अघि सारिएको छ ।

कर्णालीमा अन्य क्लस्टरबाट मुगुका डिल्लीराज भट्ट, दलिततर्फ दैलेखका हिक्मत विश्वकर्मा र महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही उम्मेदवार बन्ने टुंगो लागेको छ ।

गण्डकी प्रदेशमा अन्य क्लस्टरबाट बागलुङका मोहनलाल शर्मा, अपाङ्गतारअल्पसंख्यक निर्वाचन क्षेत्रबाट मुस्ताङका हेमन्त शेरचन र महिलातर्फ गोरखाकी सम्झना देवकोटा उम्मेदवार बन्ने भएका छन् ।

कोशी प्रदेशबाट अन्य निर्वाचन क्षेत्रबाट भोजपुरका परशुराम अधिकारी र महिलातर्फ सुनसरीकी रूक्मिणी चौधरी उम्मेदवार बन्ने भएका छन् ।

लुम्बिनी प्रदेशबाट अन्य समूहबाट पाल्पाका झपिन्द्रबहादुर बिसी र महिलातर्फ तुलशा केसी उम्मेदवार बन्ने निश्चित भएको छ।

सुदूरपश्चिम प्रदेशमा महिलातर्फ कैलालीकी सावित्रा घिमिरे, अपाङ्गतातर्फ कैलालीकै रामचन्द्र जोशी र अन्य क्लस्टरबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल उम्मेदवार बन्ने टुंगो लागेको छ ।

एमालेले मधेस प्रदेशमा अन्य समूहबाट महोत्तरीका अर्जुनकुमार सिंह र महिलातर्फ पर्साकी उषा चौधरीलाई मधेस उम्मेदवार बनाउने भएको छ ।

माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गर्नुपर्ने कार्यतालिका छ ।

प्रकाशित मिति: २२ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्