आज चारवटा संसदीय समितिका बैठक बस्दै, के-के छन् एजेण्डा ?
काठमाडौं । संघीय संसद्अन्तर्गत आज चार वटा समितिको बैठक बस्दै छ । अर्थसमितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
संघीय संसद सचिवालय, सिंहदरबारमा बस्ने बैठकमा १६औँ पञ्चवर्षीय योजना सम्बन्धमा राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्ने छ ।
समितिको सभाहलमा बस्ने बैठकमा सुदुरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र लुम्बिनी प्रदेशको बाँके जिल्लाहरूमा गरिएको बजार अनुगमनसम्बन्धी प्रतिवेदन, २०८० लाई समिति समक्ष पेस गरिने कार्यसूची रहेको छ ।
गण्डकी प्रदेशको कास्की पोखरा र स्याङ्जा जिल्लाहरूमा गरिएको बजार अनुगमनसम्बन्धी प्रतिवेदन, २०८० लाई समितिसमक्ष पेस गरिने पनि बताइएको छ ।
राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गरिनेछ ।
त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे प्याप्सन, एनप्याप्सनलगायत सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघसँग छलफल गरिने छ ।
प्रकाशित मिति: २२ पुस २०८०, आइतबार