भारतीय विदेशमन्त्री जयशंकर काठमाडौं आउँदै


 


काठमाडौं, पुस, १८ । परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा भारतीय विदेशमन्त्री डा. एस जयशंकर बिहीबार बिहान काठमाडौँ आउने भएका छन् ।

बिहीबारदेखि काठमाडौँमा सुरु हुने नेपाल र भारतको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा बैठकमा सहभागी हुन उनी काठमाडौं आउन लागेका हुन् ।

उनीसंगै विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मंत्रालयका प्रवक्ता अरिंदम बाग्ची, विदेश मन्त्रालय अन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरू पनि आउने छन् ।

भारतीय वायुसेनाको विशेष विमानले उनी बिहीवार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलमा अवतरण गर्ने छन् ।

विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूतले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्ति अनुसार संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आउने भारतीय विदेशमन्त्री जयशंकरले उच्चस्तरीय राजनीतिक भेटघाट समेत कार्यक्रम रहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसंग शिष्टाचार भेटघाटको कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति: १८ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्