राष्ट्रियसभामा एमालेलाई पनि भाग दिने तयारी, आज छलफल हुँदै


 


काठमाडौँ, पुस १८ । राष्ट्रियसभा निर्वाचनबारे सत्ता गठबन्धनबीच छलफल भइरहेको छ ।

छलफलका क्रममा प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई पनि भाग दिने तयारी भइरहेको छ । जसका लागि सत्ता गठबन्धन दल र एमालेबीच पनि आज (बुधबार) बेलुका छलफल हुँदैछ ।

आज साँझ ५ बजे गठबन्धन सम्बद्ध कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपाका साथै एमालेसहितको बैठक बस्न लागेको हो ।

मंगलबार र बुधवार बिहान बसेको कांग्रेस र माओवादी केन्द्रको बैठकमा राष्ट्रियसभा निर्वाचनमा एमालेलाई साथमै लिएर जाने विषयमा छलफल भएको थियो ।

आगामी माघ ११ मा निर्वाचन हुने राष्ट्रियसभामा १९ सिटमध्ये एमालेलाई तीन वा चार सिट दिनेबारे छलफल भएको बताइएको छ ।

आगामी फागुन २० मा एमालेका (एक मनोनीत) सहित ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।

जसमा कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुने छ ।

आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ ।

प्रकाशित मिति: १८ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्