मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु, तीन जना घाइते


 


मकवानपुर, पुस १८ । मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्‍याङस्थित बुधबार बिहान पूर्वपश्चिम राजमार्गमा अभ्यासका लागि दौडिँदै गरेको अवस्थामा मोटरसाइकलले ठक्कर दिँदा प्रहरी जवान विनोद एडीको मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

वर्ष २५ का प्रहरी जवान एडी डडेलधुरा जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौडामा कार्यरत थिए । उनलाई हेटौँडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एडीलाई उपचारको लागी हेटौँडा अस्पताल लगिएपनि उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

मोटरसाइकलको ठक्करबाट प्रहरी जवान नवराज सार्की र विजय खत्री सामान्य घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको र उपचारपछि डिस्चार्ज गरिएको उनले बताए ।

प्रहरी जवान एडीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको मोटरसाइकल पल्टिँदा मोटरसाइकल चालक हेटौँडा-४ का ४२ वर्षीय लक्ष्मण लामा पनि घाइते भएका छन् । उनको टाउको र हातमा चोट लागेको छ ।

उनलाई हेटौँडा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्