प्रतिस्पर्धाबाट त्रिवि उपकुलपति नियुक्ति माग गर्दै नेविसंघले गर्यो सडकमै बहस
काठमाडौ., पुस १७ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्न माग गर्दै नेपाल विद्यार्थी संघले सडकमै बहस कार्यक्रम राखेको छ ।
नेविसंघले मंगलबार प्रदर्शनीमार्गमा सडक बहस गरेर उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पनि गराएको हो ।
खुला प्रतिस्पर्धाबाट त्रिविलगायत विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्न नेविसंघले दबाब दिँदै आएको केन्द्रीय सदस्य विजय ढुंगानाले बताए।
त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले पनि खुला प्रतिस्पर्धाबाट नै त्रिवि उपकुलपति नियुक्ति गर्ने र राजनीतिक भागबन्डा नगर्ने प्रतिबद्धता जनाउँदै आएका छन्।
प्रकाशित मिति: १७ पुस २०८०, मंगलबार