वीरेन्द्र र सुजनको शव गृहजिल्ला पठाइँदै


 


काठमाडौँ, पुस १७ । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको शव उनीहरुकै गृहजिल्लामा पठायँदैछ ।

गृह जिल्लामा पठाउन उनीहरूको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।

दुवै जनाको शव पाटन अस्पतालमा पोस्टमार्टम पछि विमानस्थलमा लगेर नेपाली सेनालाई जिम्मा लगाइएको एसपी कार्कीले जानकारी दिए । नेपाली सेनका स्काई ट्रक एन ए–०६४ मार्फत दुवै जनाको शव सुर्खेत लैजाने तयारी गरिएको छ ।

सुर्खेतबाट हेलिकप्टरमा सुजन रावतको शव दैलेख र वीरेन्द्रको शव अछाम लैजाने तयारी गरिएको हो ।

पुस १३ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन स्थलमा गम्भीर घाइते भएका दुवैले अस्पतालमा ज्यान गुमाएका हुन् ।

प्रकाशित मिति: १७ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्